
काठमाडौँ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाली काँग्रेस र (नेकपा)को प्रचण्ड–नेपाल समूहले छुटाछुटै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । नेपाली काँग्रेसको विहीबार बसेको केन्द्रीय समिति बैठकले यही पुस १३ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
विहीबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । थप कार्यक्रम यसपछि सार्वजनिक गर्ने काँग्रेसले बताएको छ । बैठक अहिलेपनि जारी छ ।
त्यसैगरी (नेकपा)को प्रचण्ड र माधव कुमार नेपाल समूहले यही पुस १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बबरमहलमा जारी केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो ।
बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन समिति गठन गरेको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे सो समूहका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरु माइतीघरमण्डलामा उपस्थित भएर विरोध प्रदर्शन गर्ने । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने भएको छ ।
यो समूहले आफ्नो धारणा सार्वजनिक गर्न भोलि दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना समेत गरेको प्रवक्ता श्रेष्ठले बताए । संसद विघटनविरुद्ध प्रचण्ड नेपाल समूहले नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक बताएको छ ।
बैठकले पार्टीका कार्यक्रम पनि तय गरेको छ । जसअनुसार पुस ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको छ ।
बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।
त्यसैगरी शुक्रबार (भोलि) सबै केन्द्रीय समिति सदस्यसहित सर्वोच्च अदालत घेराउ गर्ने निर्णय पनि गरेको छ । जसको नेतृत्व पार्टी प्रवक्ता श्रेष्ठले गर्नेछन् ।