
काठमाडौँ । अमेरिकाले अब युक्रेनलाई हतियार आपूर्ति नगर्ने भएको छ । ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राखेर युक्रेनलाई केही हतियार नदिने निर्णयमा पुगेको बताइन् ।
‘अमेरिकाको हितलाई पहिलो प्राथमिकतामा राख्न, हाम्रो सैन्य भण्डारको अवस्था र विश्वभरका अन्य प्राथमिकताहरूलाई ध्यानमा राख्दै यो निर्णय लिइएको हो’ केलीले भनिन् ।
अमेरिकी रक्षा मन्त्रालयले युक्रेनलाई हतियार आपूर्तिमा रोक लगाउनुको कारण अमेरिकी सैन्य भण्डारको कमी र मध्यपूर्व लगायत अन्य क्षेत्रमा बढ्दो आवश्यकता भएको जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । रक्षा सचिव पीट हेगसेथले जुन २०२५ को सुरुमा अमेरिकी भण्डारको समीक्षा गर्न आदेश दिएका थिए, जसले युक्रेनलाई पठाइने हतियारहरूमा कमी आएको संकेत गरेको छ ।
अमेरिकाले अहलिेसम्म युक्रेनलाई करिब ६७ अर्ब डलरको सैन्य सहायता प्रदान गरेको छ । जसमा प्याट्रियट हवाई रक्षा प्रणाली, १५५ एमएम तोपखाना गोला, र हेलफायर एन्टी–ट्यांक मिसाइलहरू समावेश छन् ।
ट्रम्प प्रशासनका केही अधिकारीहरूले अमेरिकी भण्डार धेरै कम भएकोमा चिन्ता व्यक्त गर्दै युक्रेनलाई हतियार आपूर्तिमा रोक लगाउन सुझाव दिएका थिए ।
अमेरिकाले प्याट्रियट पीएसी–३ इन्टरसेप्टरहरू, १५५ एमएम तोपखाना गोला, जीएमएलआरएस रकेटहरू, स्टिङ्गर मिसाइलहरू, र हेलफायर एन्टी–ट्यांक मिसाइलहरू दिन रोक लगाएको छ ।
अमेरिकाले दिएका यिनै हतियारको भरमा युक्रेनले रुससँग युद्ध लडिरहेको छ । ट्रम्प प्रशासनले हतियार आपूर्तिमा रोक लगाएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की तनावमा परेको बताइएको छ ।