
काठमाडौं । संसद् विघटन विघटनविरुद्ध आज देशभर नेपाली काँग्रेसले विरोध प्रदर्शन गर्न लागेका छ । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलनरत काँग्रेसले आज ७७ वटै जिल्लामा एकसाथ विरोध प्रदर्शन गर्न लागेको हो ।
माघ १३ गतेको निर्णयअनुसार जिल्ला कार्यसमितिहरुको आयोजनामा हुने विरोध प्रदर्शनमा काँग्रेसका शिर्ष नेताहरुले समेत सम्वोधन गर्ने भएका छन् ।
पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महतले धादिङमा, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने नेपाली काँग्रेसले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनका लागि प्रस्ताव गरेपछि पुस १३ गतेदेखि आन्दोलित बनेको कांग्रेसले विभिन्न चरणमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको छ ।
संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो । आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् ।