
काठमाडौं । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक हप्ता पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज अहिलेसम्मकै धेरै ३ सय ७७ जनामा कोरोना संक्रमण भएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७० जनामा कोराना संक्रमण भएको छ । त्यसैगरी ललितपुरका ६६ र भक्तपुरमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना नियन्त्रण गर्न निषेधाज्ञामा जारी गरिएपनि झनझन संक्रमण फैलिन थालेपछि राजधानीबासी चिन्तित भएका छन् ।
त्यसैगरी आज देशभर थप १ हजार ११ संक्रमित थपिएक छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।
पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । यसअघि बुधबार पनि उपत्यकामा ३०१ जनामा संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका प्रवक्ता गौतमका अनुसार देशभर १५ हजार २ सय ७५ जना आइसोलेसनमा छन् भने ९ हजार ४ ८८ जना क्वारेन्टिनमा रहेका छन् ।
यसैबीच सुदूरपश्चिम प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार ३६ जनामा संक्रमण पुष्टि भएको हो ।
तीनओटै प्रयोगशालामा गरेर पछिल्लो २४ घन्टामा ९२१ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमा बैतडीका १७, कैलालीका १२, डोटीका छ र बझाङका एकजनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ६९४ पुगेको छ । संक्रमण पुष्टि भएकामध्ये चार हजार ७०० जनाभन्दा बढीले कोरोनालाई जितेको बताइएको छ । १४ जनाको ज्यान गइसकेको छ ।