 
	
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ विचारलाई प्रविधिसँग एकीकृत गरेर मात्रै अबको क्रान्ति जित्न नसकिने बताएका छन् । शनिबार नेकपा काठमाडौँले जेल परेका नेता कार्यकर्तालाई रिहाईको लागि बहस गर्ने कानुन व्यवसायीहरुको सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै सुदर्शनले विज्ञान प्रविधिको विकासले जनताको पक्षमा हुने आन्दोलन वा संघर्ष पनि पुरानै तरिकाले मात्रै जित्न नसकिने बताए ।
“अब बन्दुकले मात्रै जित्न सकिँदैन, साम्राज्यवादीहरु बन्दुकमा कम्प्युटर जोडेर आएका छन् । विज्ञान प्रविधिको विकासले गाउँ र शहर दूरी घटाएको छ । त्यसैले क्रान्तिकारी विचरलाई प्रविधिसँग एकीकृत गर्नुपर्छ, बन्दुकमा कम्प्युटर जोड्नु पर्छ, गाउँ शहर जोड्नुपर्छ, राष्ट्रिय मुक्ति आन्दोलन र वर्गीय आन्दोलनलाई पनि जोड्नुपर्छ” सुदर्शनले भने । उनले अहिलेको समाज लेनिन र माओकालिन नभएकोले बताउँदै आफ्नो पार्टीले क्रान्तिका रुसी र चिनियाँ अनुभवलाई एकीकृत गरेर एकीकृत जनक्रान्तिको कार्यदिशाको विकास गरेको बताए ।
नेता सुदर्शनले मजदूरलाई शोषण गर्न पुँजीवादीहरुले उत्पादन विकेन्द्रकरण र वितरण केन्द्रीकरण गरेको र किसान हलोबाट ट्याक्टर चलाउने र मजदूर कम्प्युटर चलाउने भएकोले पूरानै ढर्राबाट क्रान्ति सम्भव नभएको बताए ।
जेल बसाईको अनुभव सुनाउँदै नेता सुदर्शनले अन्यायप्रेमीले शासन गरेको देशमा न्यायप्रेमीहरु जेलमा भेटिने बताए । उनले जेल ज्ञान र अनुभवको विश्वविद्यालय भएको बताए । आफ्नो पार्टीको नेतृत्वमा वैज्ञानिक समाजवाद आए अहिले जसरी ऊर्जाशील समय जेलमा नभएर उत्पादन र रचनात्मक कार्यमा लगाउने वातारण बनाइने सुदर्शनले बताए ।
हिजो मात्रै रिहा भएका नेकपा नेता भरत बम ‘रणवीर’ ले कार्यक्रममा अनुभव सुनाउँदै आफू बसेर आएको सानो जेल भएको बताउँदै पूँजीवादी व्यवस्था ठूलो जेल भएको बताए । उनले सबै मानिसहरुलाई पुँजीवादले बन्दी बनाएको बताउँदै त्यसबाट मुक्त हुन वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।
नेता बमले सानो जेलको बसाईले ठूलो जेलको अन्त्य गर्ने खरखजना तयार गरेको बताए । उनले जेल पनि क्रान्ति र आन्दोलनको अंग भएको बताए । शोषणको बलमा टिकेको विश्वा व्यवस्था संकटमा पुगेको रणवीरले बताए ।
नेकपाका काठमाडौँ इन्चार्ज माइला लामाले पार्टीका नेता कार्यकर्ता रिहाईको लागि कानुन व्यवसायी क्षेत्रबाट ठूलो भूमिका खेलेको बताए । उनले उक्त भूमिकाको उच्च सम्मान गर्दै पार्टीले कार्यक्रमको आयोजना गरेको बताए । नेपालका नेताहरुले परिवारलाई राजनीतिक नजोड्न केही समस्या आएको बताउँदै लामाले राजनीतिकर्मीले परिवारलाई पनि अनिवार्य राजनीतिकसँग जोड्नु पर्ने बताए ।
केही दिन पहिले बाजुराबाट रिहा भएका नेकपाका केन्द्रीय सदस्य चुडामणी वली, ‘आदर्श’ बन्धु चन्दले पनि जेलको अनुभव सुनाएका थिए ।
सम्मानपछि वरिष्ठ अधिवक्त एकराज भण्डारीले आफूले वकालतको सुरुवात नै राजनीतिक मुद्धाबाटै गरेको बताए । जनयुद्ध पहिले तत्कालिन जनमोर्चाका नेता कार्यकर्तामाथि लगाइएको मुद्धामा पनि आफूले बहस गरेको बताए । परिवर्तनको पक्षमा लाग्ने यात्रीहरुमाथि राज्यले लगाउने झुटा मुद्धाको विपक्षमा बहस गर्नु आफूहरुको कर्तव्य भएको बताए । परिवर्तनको उच्च आकांक्षा राखेर मानिसहरु बलिदान गर्न तयारी हुनेहरुमाथि अन्याय हुँदा आफूहरु चुप लागेर बस्न नसक्ने बताए ।
संविधानसभा सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता भण्डारीले आफूहरुले जनताप्रति उत्तरदायी हुने प्रावधान संविधानमै राख्ने गरी तयारी गरेको तर नेताहरुले संविधान सभा नै भंग गरेको अनुभव पनि सुनाए । बन्दी परिवारको तर्फबाट मनु लामाले अनुभूति राखेकी थिइन् ।
नेकपाले वरिष्ठ अधविक्ता भण्डारीसँगै अधिवक्ताहरु, कपिलचन्द्र पोखरेल, खिमान्द अधिकारी, नारायण तिवारी, दयाराम पोखरेल, सन्तोष कोइराला, चुडाबहादुर निरौला ‘दिवस’, कान्तिराम ढुंगाना, राजु अधिकारी, कविता बस्नेत, चिरञ्जीवी ढकाल, रामकृष्ण भण्डारीलाई सम्मान गरेको थियो ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          









