काठमाडौँ । स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत सञ्चालन भइरहेका अस्पतालहरूले आठ महिनादेखि बिमा बापत रकम भुक्तानी नपाउदा उपचार सेवा नै प्रभावित बनेको छ । संघीय राजधानीका ठुला अस्पताल मानिने शिक्षण अस्पताल महाराजगन्जले गत माघयता बिमाबापत कुनै पनि भुक्तानी नपाइएपछि दुई सातायता बिमा प्रक्रियाबाट आएका बिरामी भर्ना सेवा बन्द भएको जनाएको छ।
अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले खर्चै धान्न नसकेपछि बिमामार्फत उपचारमा आएका बिरामीलाई भर्ना गर्न नसकिएको बताएका छन । बोर्डले तोकेको शुल्क र अस्पतालको सेवाशुल्क नमिलेको तथा ढिला दाबी गरिएको भन्दै बोर्डले समयमै बिमा भुक्तानी नदिएको उनको भनाइ छ।अस्पतालको भुक्तानी रकममाथि बोर्डले अविश्वास गरी अनेक कारण देखाएर समयमै भुक्तानी नगरेको काफ्लेको आरोप छ। अस्पतालमा दैनिक उपचारमा आउने कुल बिरामीमध्ये २० प्रतिशत बिमाका मात्र रहने गरेको अस्पतालले जनाएको छ ।बोर्डले उक्त अस्पताललाई ६५ करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ।
यसै गरि मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पतालको सेवा बन्द हुने अवस्थामा पुगेको छ।नेपाल कोरिया नगरपालिका अस्पतालको स्वास्थ्य बीमा वापतको रु २१ करोड ५७ लाख रुपैँया भुक्तानी प्राप्त गर्न बाँकी रहेको छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. डिके रौशनले लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा बिरामीको लागि खरिद गर्नुपर्ने औषधि खरिददेखि चिकित्सक, नर्सको तलबभत्ता दिन समस्या परेकाले सेवानै बन्द गर्नु पर्ने अवस्थामा पुगेको बताए।
ललिततपुर महानगरपालिकाले सञ्चालन गरिरहेको अस्पतालको समेत गरी पाटन अस्पताललाई बोर्डले १८ करोड बढी रूपैयाँ भुक्तानी गर्नुपर्ने बताइएको छ। अस्पताल आफ्नै आम्दानीमा चल्नुपर्ने भएकाले बिमा बोर्डले लामो समय भुक्तानी नगर्दा कर्मचारीलाई तलबभत्ताको समेत व्यवस्थापन गर्न कठिन भएको पाटन अस्पतालका प्रशासन प्रमुख तीर्थ भुजेलले बताए।
सरकारले २०८० चैत २५ गते बात ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । सरकारले आगामी १० वर्ष भित्र अर्थात् विसं २०९० सालसम्ममा सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने लक्ष्य लिएको थियो ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली





