काठमाडौं । विश्व फोटोग्राफी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस भएपनि नेपालमा भने सन् २०१० बाट मात्रै औपचारिक रुपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिले सोमबार ललितपुरको पाटन दरवार क्षेत्रमा जलवायु परिवर्तनसंग सम्बन्धित रहेर विशेष फोटो प्रदर्शनीको आयोजना गरेको छ ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले फोटो प्रदर्शनी उद्घाटन गर्नु भयो । कार्यक्रममा बोल्दै जिल्ला अधिकारी श्रेष्ठले विश्व फोटोग्राफी दिवसको शुभकामना दिँदै फोटो प्रदर्शनीमा देशभरको हिमालको फोटो समेटेर जलवायु परिवर्तनले हिमालमा पारेको असरका विषयमा फोटो माध्यमबाट उजागर गर्न खोज्नु भएको छ, यो धेरै राम्रो काम भएको बताए ।
कार्यक्रमको उदघाटन सत्रमा ललितपुरका मेयर चिरीबाबु मर्हजनको उपस्थिती थियो ।
पहिलेका फोटोहरुमा हिमालहरू मा हिउँ प्रशस्त देखिएको र पछिल्लो तस्वीरहरुमा नदेखिएको कारण जलवायु परिवर्तनबारे सचेत हुनु पर्ने बताए । प्रदर्शनीमा ४० भन्दा बढी फोटो पत्रकारहरूले खिचेका ६० वटा हिमालसंग सम्बधित तस्वीरहरु राखिएको कार्यक्रम संयोजक तथा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका कार्यवाहक महासचिव घनश्याम श्रेष्ठले जानकारी दिए । एनएफपिजे नेपालले विश्व फोटोग्राफी दिवस निरन्तर रूपमा मनाउँदै आइरहेको छ। अघिल्लो वर्ष पनि दिवस मनाउने क्रममा बालअधिकारको संरक्षण र प्रवर्द्धनमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने प्रकारका बालबालिका सम्बन्धी ६० वटा तस्वीरहरू प्रदर्शनीमा राखिएको थियो।
पछिल्लो समय जलवायु परिवर्तन कारण हिमालहरू पग्लिने र हिमतालहरू विस्फोटका कारण त्यहाँका जनतालाई परेको असरलाई फोटो मार्फत देखाउनको लागि सो प्रदर्शनी गरिएको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए। उनले १ सय ८५ औँ विश्व फोटोग्राफी दिवस अवसरमा सम्पूर्ण फोटो पत्रकारलाई शुभकामना दिँदै “हिमाली क्षेत्रमा जलवायु परिवर्तनले नराम्रो असर गरिरहेको छ।
वन डढेलो, हिउँ पग्लने, हिमताल विस्फोट हुने जस्ता समस्या बढिरहेका छन्,” वन्तले भने, “जलवायु परिवर्तनको असरका कारण हिमाल र हिमाली क्षेत्र जोखिममा परेको छ। पर्वतीय क्षेत्रलाई जलवायुको संकटबाट बचाउन समयमा नै सबैले ध्यान दिन जरुरी छ।” नेपाल चीन मैत्री फोरोमको सहयोगमा आयोजित उक्त फोटो प्रदर्शनीमा संस्थाका पूर्व अध्यक्षहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।