काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पुनः राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वका एलन मस्कको टाउको दुखाई भएको छ ।
भेनेजुएलाको निर्वाचनको परिणाम सार्वजनिक भएपछि मस्कले मादुरोलाई तानाशाह भन्दै चुनावी धाँधली भएको आरोप लगाउँदै आएका छन् । मस्कले केही दिनदेखि सामाजिक सञ्जालमा निकोलस मादुरोको आलोचना गर्दै मादुरोलाई संसारको सबैभन्दा खतरनाक जेलमा पठाउने चेतावनी समेत दिएका छन् ।
गालीगलौच गर्न नछोडेपछि नवनिर्वाचित राष्ट्रपति मादुरोले मस्कलाई राष्ट्रिय टेलिभिजनमा देखा पर्न र अगाडिबाट लड्न चुनौती दिएका थिए । मस्क आफ्नो हतियार र सेनाका साथ भेनेजुएलामा आक्रमण गर्न चाहेको बताउँदै मादुरोले आफ्नो पैसा र उपग्रहले अर्जेन्टिना कब्जा गरेका छन् र अब संसारलाई नियन्त्रण गर्न चाहेको बताउँदै सामुन्ने आएर लड्न चुनौती दिएका थिए ।
राष्ट्रपति मादुरोले आफू चाभेजको सन्तान भएको बताउँदै कसैसँग नडराउने समेत बताए ।
उता मस्कले पनि मादुरोको चुनौती स्वीकार गर्दै मदुरोले यो लडाइमा हारे भने उनले राजीनामा दिनु पर्ने र जिते मंगल ग्रहको यात्रा सित्तैमा गराउने बताएका छन् ।
भेनेजुएलामा चुनावीमा पश्चिमा देशहरुले मादुरोलाई हराउन ठूलो षड्यन्त्र गरेका थिए । तर, जनताले उक्त षड्यन्त्रलाई परास्त पारेपछि अमेरिका लगायका देशहरु तनाबमा छन् । त्यही बेला मस्कले सामाजिक संजालमार्फत मादुरोमाथि विभिन्न आरोप लगाइरहेका छन् ।
भेनेजुएलामा जुलाई २८ मा चुनाव भएको थियो । चुनावअघि गरिएका सर्वेक्षणहरूले विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेजको सहज जित हुने भविष्यवाणी गरेका थिए। तर, चुनावको नतिजा उल्टो आयो र मादुरोले तेस्रो पटक चुनाव जिते ।
मादुरोको जितको घोषणापछि पश्चिमा देशहरुको सहयोगमा भेनेजुएलामा विरोध प्रदर्शन चर्किएको छ र अहिलेसम्म ११ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।