काठमाडौँ । भेनेजुएलाकाे राष्ट्रपतीमा निकोलस मादुरो पुनः निर्वाचित भएका छन् । भेनेजुएलाका जनताले मादुराेलाई लगातार तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित गरेका छन् ।
भेनेजुएलामा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार मतदान भएको थियो । यस निर्वाचनमा करिब दुई करोड मतदाताले मतदान गरेकाे त्यहाँकाे निर्वाचन आयोगले जनाएकाे छ ।
भेनेजुएलाको निर्वाचन आयोग, नेशनल इलेक्टोरल काउन्सिलका प्रमुख एल्विस अमोरोसोले निकोलस मादुरोले ५१ प्रतिशत मत प्राप्त गरेको घोषणा गरेका थिए । जबकि विपक्षी नेता एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएका छन् ।
आफ्नो जितका लागि ढुक्क रहेका विपक्षी नेताहरुले जितको दाबी गर्दै सामाजिक सञ्जालमा जितको खुसी मनाउन थालेका थिए । विगत लामाे समयदेखि भेनेजुएलामा अस्थिरता पैदा गर्न चाहने पश्चिमा देशहरू समर्थित एक्जिट पोलहरूले गोन्जालेजलाई ठूलो मतान्तरले जितेको देखाएका थिए । तर, निर्वाचनकाे अन्तिम नतिजाले उनिहरूका अनुमान गलत सावित गरिदिएकाे छ ।
भेनेजुएलाकाे समाजवादी सत्ताविरूद्द विपक्षीहरूले संयुक्तरूपमा चुनावी गठबन्धन बनाएका थिए । पश्चिमा देशहरूले ७४ वर्षीय वृद्द एडमन्डो गोन्जालेज युरेसियाको नेतृत्वमा चुनावी गठबन्धन बनाएका थिए । तर, जनताले ११ वर्षदेखि सत्ताकाे नेतृत्व गरिरहेका मदुरोलाई सत्ताबाट हटाउन भने सकेनन् ।
निर्वाचित भएपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै मादुरोले विपक्षीहरूले फेरि चुनावी धाँधलीको नारा लगाउन थालेकाे र यो फिल्म धेरै पटक हेरेकाे बताएका छन् ।
मादुरोले अगाडी भने, ‘म २० वर्षअघि राजनीतिमा आएको थिएँ, त्यतिबेला तपाईंहरूमध्ये धेरैको जन्म पनि भएको थिएन र त्यसबेलादेखि उनीहरूले मलाई चुनावी नतिजामा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । तिनीहरू (विपक्षीहरू) सबै खराब अनुहार भएका मानिसहरू हुन् र यहाँ भएका तपाईंहरू (समर्थकहरू) बुद्धिमान् र अद्भुत मानिसहरू हुनुहुन्छ ।’
यसैबीच चुनाव हराउन नसकेपछि अमेरिकी सरकारले नतिजाप्रति चिन्ता व्यक्त गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलाको चुनावी नतिजालाई लिएर अमेरिका चिन्तित रहेको बताएका छन् ।