
नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाकामध्ये एक सिन्धुपाल्चोक जिल्लाको तातोपानी मार्ग ठप्प भएको छ । आइतबार रातिको अविरल वर्षाले जिल्लाको विभिन्न नदी तटीय क्षेत्रमा क्षति पुर्याउदा खाल्डेखोलामा बाढी र पहिरोले सडक अवरुद्ध भएको हो । भारी वर्षाका कारण आएको बाढीले पाँचपोखरी थाङ्पाल गाउँपालिका– ८ तिपेनीमा रहेको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको केही संरचना बगाएको छ भने ,७ दशमलव ५ मेगावाट क्षमताको आयोजनाको ड्याम बालुवाले भरिएको कारण विद्युत् उत्पादन ठप्प भएपछि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का अधिकांश भाग अन्धकार भएको प्रहरीले जनाएको छ।
त्यस्तै बाढीले पाँचपोखरी थाङ्पाल गाउँपालिका– ६ चिन्डेमा रहेको झोलुङ्गे पुल समेत बगाएको छ। सोही गाउँपालिकाको सो क्षेत्रमा जाने कुनै पनि बैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनहरूसमेत चल्न नपाउँदा बिरामीहरू समेत मारमा परेका छन्। चिनियाँ पुल, माझीरुम्टी, तिपेनी, खसेबलुवा र खाल्डेखोला आसपासका बस्ती बजार पूर्ण जोखिममा रहेको छ।