काठमाडौँ । गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागबाट उच्च जोखिमको सूचना (रेड एड्भाइजरी) जारी भएका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी नचलाउने निर्णय गरेको छ । यो निर्णयसँगै बाढीपहिरो आउन सक्ने सम्भावनाको सूचना जारी भएका क्षेत्रहरूमा रात्रीकालिन बस सेवा भन्दा भएको छ ।
गृह मन्त्रालयमा शुक्रबार बसेको मन्त्रालयको विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाको बैठकले सो निर्णय गरेको जानकारी मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले दिनुभयो ।
त्यसै गरी देशभर विपत्मा परेका नागरिकको खोज, उद्धार तथा राहतका कार्यमा समन्वय गर्न गृह मन्त्रालयमा गठित कमान्ड पोस्ट चौबिसै घण्टा क्रियासिल रहेको भटराईले जानकारी दिनुभयो ।
बैठकले राजमार्गका पहिरो तथा डुबान सम्भावित क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका सङ्केत चिह्न राख्ने, राजमार्गमा खटिने सुरक्षाकर्मीले सडकको अवस्थासम्बन्धी सूचना प्रवाह गर्ने र सोका आधारमा मात्र सवारीसाधन सञ्चालन गर्ने, यातायात व्यवसायीले यात्रीको पूरा विवरणसहितको यात्रु टिकट अनिवार्य रूपमा जारी गर्ने निर्णय गरेको भएको छ ।
सडक इजाजतपत्र जारी नभएका सडकमा दुर्घटनाको जोखिम हुने गरी पटके सडक इजाजत जारी नगर्ने र ट्राफिक प्रहरीले यसको अनुगमन गर्ने, यात्रीहरूलाई ठगी गर्ने व्यक्तिलाई स्थानीय प्रशासनले अनुगमन गरी कालोबजारी ऐनबमोजिम कारबाही गर्ने कार्यलाई थप प्रभावकारी बनाउनेलगायतका निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।