
काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उपत्यकामा पानीको अभाब नहुन वागमती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी वितरण थालेको छ ।
मनसुन शुरु भएसँगै मेलम्ची खानेपानी आयोजना बन्द भएपछि मंगलबार आज देखि शिवपुरी धाप ड्यामबाट उपत्यकामा पानी वितरण सुरु गरिएको हो । मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गर्दै मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन साेमबारदेखि आयोजना बन्द गरिएको थियो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईका अनुसार बागमती सभ्यता–एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भए पछी पानी वितरण सुरु गरिएको हो ।
मेलम्चीको खानेपानी बन्द भएपछि उपत्यकामा खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको प्रवक्ता राइले बताउनु भयो ।