काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिन इरानतर्फ प्रस्थान गरेका छन् ।
इरानको तेहरानमा सोमबार आयोजना हुने बैठकमा सहभागी हुन मन्त्री श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मन्त्री श्रेष्ठले बैठकका अवसरमा सदस्य राष्ट्रका विदेशमन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रीस्तरीय बैठकअघि मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगरले असार ९ गते हुने एसीडीका वरिष्ठ अधिकारीहरूको बैठकमा भाग लिनेछन् ।
एसीडी सदस्य राष्ट्रमा नेपालसँगै अफगानिस्तान, कुवेत, दक्षिण कोरिया, बहराइन, रुस, बंगलादेश, भारत, चीन, थाइल्यान्ड, इन्डोनेसिया, जापान, कतारलगायत ३५ देशहरू रहेका छन् ।
मन्त्री श्रेष्ठ असार १२ गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।