काठमाडौं । मनसुन भित्रिएसँगै पूर्वी नेपालका केही क्षेत्रमा भारी बर्षाका कारण पहिरो आउन थालेको छ । तीन दिन पहिले नै नेपाल भित्रिएको मनसुन पूर्वी पहाँडमै खुम्चिएको छ । तर, बर्षाका कारण केही ठाउँमा जनधनको क्षति भइरहेको छ ।
गएराति परेको अविरल बर्षाका कारण ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो ।
यसैगरी पहिरोमा पुरिएर तीन जना घाइते भएका छन् । घाइते हुनेमा ४० वर्षीया युगेन लिम्बू र उनकी तीन वर्षीय रहेका छन् ।
प्रहरीका अनुसार बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूर्वी पहाडमा बर्षाका कारण बाढी पहिरो आएपनि पश्चमि तराईमा भने उखर्मौलाे गर्मी भइरहेको छ । दाङमा विद्यार्थी स्कुलमै बेहोस भएका थिए । गर्मी विदा गरेपनि मनसुन भित्रिएसँगै स्कुल खुलेका थिए । तर गर्मी सहन नसकेर विद्यार्थीहरु कक्षा कोठाभित्रै बेहोस भएका थिए ।
त्यसैगरी बाँके, बर्दिया र कैलालीलगायतका जिल्लामा अझैं केही दिन गर्मीका कारण लु चल्ने मौसमविद्ले जनाएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
मनसुनका कारण कोशी प्रदेशमा बाढी पहिरोले क्षति हुने गरी वर्षा भइरहेको छ भने देशका अन्य क्षेत्रमा उल्लेख्य वर्षा भएको छैन । शुक्रबार पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।