काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंह र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार जनमत पार्टीका संसदीय दलका नेता सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।
गठबन्धन ६ दलको समर्थनमा शुक्रबार सिंहले मुख्यमन्त्रीको दाबी पेश गरेका थिए । सिंहलाई ५५ जना सांसदको समर्थन रहेको छ ।
त्यसैगरी मुख्यमन्त्री सिंहले गठबन्धनमा सहभागी दलहरुलाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका छन् ।
मुख्यमन्त्री सिंहले शपथ लिएलगत्तै मन्त्रीहरुले पनि शपथ लिएका छन् ।
नेकपा माओवादी केन्द्रबाट अर्थमन्त्री भरतप्रसाद साह, युवराज भट्टराई उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा नियुक्त भएका छन् ।
गठबन्धनको अर्को दल नेकपा एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकास मन्त्री, राजकुमार लेखीले शिक्षा तथा संस्कृति मन्त्रालय र शत्रुधनप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्या र प्रमोदकुमार जयसवालले खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मा पाएका छन् ।
त्यस्तै मुख्यमन्त्री सिंहले एमालेबाट केशव राय स्वास्थ्य र शारदादेवी थापा शिक्षा तथा संस्कृति राज्यमन्त्रीको शपथ खुवाएका छन् ।
अर्को दल नेकपा (एस) बाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बेंची लुङ्गेली ऊर्जा, सिँचाइ र खानेपानी मन्त्रीको जिम्मा दिइएको छ ।
एकमात्र सांसद रहेको नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारी तरुन्नुमलाई गृह, सञ्चार तथा कानुन मन्त्री र नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद उर्मिलादेवी सिंहलाई श्रम तथा यातायात मन्त्रीको जिम्मेवारी दिइएको छ ।
त्यस्तै जनमत पार्टीकी न्जुकुमारी मण्डल खङ्गले विनाबिभागीय राज्यमन्त्रीको शपथ लिएकी छन् ।