काठमाडौँ । मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले भोलि (शुक्रबार) दिउँसो १२ बजेसम्म मुख्यमन्त्रीको लागि दाबी पेश गर्न आह्वान गरेकी छन् । कुनै पनि राजनीतिक दलको बहुमत नभएकोले दुई भन्दा बढी दलसहित बहुमतको सरकार गठन गर्न आह्वान छन् ।
बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत गुमाएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दलहरुले बहुमत जुटाएर शुक्रबार बिहान १२ बजेभित्र आफ्नो दाबी पेश आह्वान गरेकी हुन् ।
‘माननीय मुख्यमन्त्री सरोज कुमार यादवज्यूले बुधबार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्तुत गर्नु भएको विश्वासको मतको प्रस्ताव बहुमतले पारित नभएकोले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१।०२।२५ गते शुक्रवार विहान १० बजे भित्र मधेश प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न माननीय प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीज्यूले आह्वान गर्नुभएको व्यहोरा जानकारीको लागि अनुरोध छ’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गठबन्धनमा आवद्ध दलहरुबीच जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । जनमतका अध्यक्ष सिकी राउतले मुख्यमन्त्रीको उम्मेदवारबारे पार्टीमा छलफल चलाइसकेका छन् ।
प्रदेश प्रमुखले आह्वान गरेको समय सीमा भित्रै मुख्यमन्त्रीको दाबी गर्ने तयारीमा गठबन्धन दलहरु जुटेका छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेससँग मिलेर प्रधानमन्त्री प्रचण्डविरुद्ध वैकल्पिक गठबन्धनको तयारीमा लागेपछि ६ वर्ष पछि मधेसको नेतृत्व गुमाएको छ ।