काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध एक अर्ब भन्दा बढी हिनामिना गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जनले राजस्व चुहावट गरी सरकारी हानीनोक्सानी पुर्याएको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७५/०७६ देखि ०७९/०८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेण्डर लगाउँदा सरकारी दर भन्दा कमगरी एक अर्ब चार करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पुर्याएको अख्तियारले दाबी गरेको छ ।
मेयर महर्जनसहित तत्कालीन प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र ठेकेदारसमेतलाई अख्तियारले प्रतिवादी बनाएको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार राजस्व चुवाहट गरी खानीजन्य पदार्थका रुपमा रहेका ढुंगागिट्टी बालुवासहितका बस्तु सरकारी दररेट कममा ठेक्का लगाइ हिनामिना गरेको कसुरमा अख्तियारले मुद्दा दायर गरेको हो ।
नेपाली काँग्रेसका नेता समेत रहेका मेयर महर्जन दोस्रो कार्यकालको लागि गत स्थानीय निर्वाचनमा पुनः निर्वाचित भएका थिए ।