
काठमाडौं । संसदमा पेश भएको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममाथि छलफल आरम्भ गर्न संसदमा प्रस्ताव गरेका छन् । प्रतिपक्षी सांसदहरूको अवरोधकै बीच उनले आफ्नो प्रस्ताव पेश गरेका हुन् ।
संसद बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले नाराबाजी गरेका थिए । काँग्रेसको नाराबाजीबीच सभामुखले कार्यसूची अनुसार संसद बैठक अगाडि बढाएका छन् ।
प्रधानमन्त्रीले प्रस्ताव राखेपछि सभामुखले दुई वटा संशोधनका सूचना प्राप्त भएको जानकारी गराए । त्यसपछि जनमोर्चाका चित्रबहादुर केसीलाई आफ्नो संशोधन प्रस्ताव राख्न उनले पाँच मिनेट समय दिए ।
अगाडि जान सम्भव नभएपछि केसीले आफ्नै आसनबाट उठेर भनाइ राखे । तर, उनले आफ्नो संशोधन नराखीकन सहकारी ठगीको विषयमा बोले । नीति कार्यक्रमलाई समर्थन नगर्ने भन्दै उनले भनाइ टुङ्ग्याए ।
नेमकिपाका प्रेम सुवालले भने नाराबाजीकै बीच आफ्नो संशोधन प्रस्ताव राखेका छन् ।
नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढिरहेको छ ।