काठमाडौं । प्रमुख तीन पार्टीका शिर्ष नेताहरुको बैठक बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले सहकारीका समस्या समाधानबारे संसदीय छानबिन समितिको कार्यादेशमा सहमति जुटाउन शीर्ष तहका नेताहरूको बैठक बोलाएका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरु बैठकमा सहभागी रहेका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा कांग्रेस दलका नेता कृष्ण सिटौला, प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका छन् ।
त्यसैगरी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र एमाले प्रमुख सचेतक महेश बर्तौला
पनि बैठकमा सहभागी छन् ।
आज बिहान बसेको संसदीय छानबिन समितिको कार्यादेश बनाउन बनेको कार्यदलको बैठक विना निष्कर्ष टुंगिएको थियो । काँग्रेसले संसदमा अवरोध जारी राखेका कारण जेठ १३ गतेसम्मलाई संसद बैठक स्थगित गरिएको छ ।
संसदीय छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नामै किटान गर्न माग काँग्रेसले राख्दै आएको छ ।