काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सोमबार (७ जेठ) मा विश्वासको मत लिने तयारी गरेका छन् ।
जेठ १ मा सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक छ । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिने तयारीबारे सभामुख देवराज घिमिरेलाई बिहीबार नै जानकारी गराइसकेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विस्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ ।
२०७९ पुस १० मा प्रधानमन्त्री बनेका दाहालले विश्वासको मत लिन लागेको यो चौथोपटक हो । प्रधानमन्त्रीलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ ।