काठमाडौं । वैकल्पिक गठबन्धन बनाएर प्रधानमन्त्री बन्ने लोभ पलाएपछि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले भइरहेको पद पनि गुम्ने पक्का भएको छ । नेपाली काँग्रेससँग मिलेर प्रचण्ड सरकारविरुद्ध भित्रभित्रै वैकल्पिक गठबन्धनको षड्यन्त्र गर्दै आएका यादवले केन्द्र र प्रदेश सरकारबाट हात धुनु परेको छ ।
केन्द्रमा उपप्रधानसहित दुई मन्त्रालय र मधेस सरकारको नेतृत्व पाएका यादव सरकार ढाल्ने खेलमा लागेका थिए । यादवको यस्तो खेलविरुद्ध पार्टी विभाजन भएसँगै केन्द्र र मधेसबाट सरकार बाहिर बस्नुपर्ने अवस्था सिर्जना भएको हो ।
संघमा कुल १२ जना प्रतिनिधिसभा सदस्य रहेको जसपा नेपालबाट ७ जना सांसदसहित अशोककुमार राईले नयाँ पार्टी बनाएका थिए । अब उपेन्द्रसँग ५ जना सांसदमात्रै रहेका छन् ।
यादवले प्रधानमन्त्री प्रचण्डसँग भेटेर सरकारमा रहिरहने वातावरण बनाउन आग्रह गरेका थिए । तर, प्रधानमन्त्रीले राजिनामा दिन सुझाव दिए । प्रधानमन्त्रीको सन्देशपछि निरास यादवले आइतबार आवश्मिक रुपमा पार्टीको बैठक बोलाएका थिए ।
प्रधानमन्त्रीबाटै यस्तो सन्देश आएपछि सरकारमा नबस्ने अन्य नेताहरुको दबाबपछि यादवले राजिनामा दिने निर्णय गरेर खल्तिमा राखेका छन् । अझै सरकारमा रहिरहने सम्भावना खोज्दै हिडिरहेका यादवले राजिनामा गर्ने निर्णय सार्वजनिक नगर्न अन्य नेताहरुलाई निर्देशन दिएको स्रोतको दाबी छ ।
मधेस प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले फिर्ता लिएसँगै सरोजकुमार यादव अल्पमतमा परेका छन् । उनले अझै माओवादीलाई फिर्ता बोलाउने प्रयास जारी राखेका छन् । तर, सम्भवना नहरेको माओवादी केन्द्रले बताएको छ ।
मधेशको सरकारमा माओवादीबाट भरतकुमार साह र युवराज भट्टराईले मन्त्रीबाट राजिनामा दिएका छन् । मधेसमा नयाँ सरकारको लागि दलहरुले छलफलमा थालेका छन् ।
अब बन्ने गठबन्धनमा जनमत पार्टी र लोसपा सहभागी हुने बताइएको छ । दुबै दलका नेताहरुले माओवादी र एमाले नेताहरुसँग छलफल गरिरहेका छन् ।