काठमाडौँ । हालै राष्ट्रिय भेला सम्पन्न गरेको उमा भुजेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वार्ता समिति बनाएको छ । मंगलबार बसेको बैठकले वसन्त श्रेष्ठको नेतृत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको हो ।
विचार मिल्नेसँग एकता र मुद्धा मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको नेकपाले विभिन्न कम्युनिष्ट शक्ति तथा समूहसँग एकता र सहकार्यको लागि वार्ता गर्ने बताइएको छ । समितिमा पार्टीका पाका नेता भेषराज भुसाल, शरद ओली असल खड्का र कपिल भट्ट रहेका छन् ।
विप्लव नेतृत्वको नेकपाबाट अलग भएको नेकापले विभिन्न कम्युनिष्ट पार्टी, समूह तथा धारासँग संवाद गर्दै सम्भावित एकता, सहकार्य र संयुक्त राजनीतिक पहलका विषयमा छलफलमा जोड दिएको छ । पार्टीको नीतिअनुसार वार्ता समितिले काम अगाडि बढाउने वार्ता समिति संयाेजक श्रेष्ठले बताए ।
यसअघि नेपाली कम्युनिस्ट पार्टीले देव गुरुङको नेतृत्वमा वार्ता समिति बनाएको थियो । गुरुङ नेतृत्वको समितिमा प्रवक्ता प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ सदस्य रहेका छन् ।
यी दुई पार्टीले एकता र सहकार्यबारे छिटै वार्ता गर्ने बताइएको छ ।


अनलाइन डबली


