काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् । बहुमत जुटाएर मुख्यमन्त्रीको लागि दाबी गरेपछि प्रदेश प्रमुख अमिक शेरचननले शनिबार महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
महरालाई नेकपा एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद गरी ४८ सांसदको समर्थन गरेका छन् ।
आज सार्वजनिक बिदा भएकोले आइतबारमात्रै पद तथा गोपनियताको शपथ खुवाउने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
उता सुदूरपश्चिममा मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको छ । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत जुटाउन नसकेपछि राजिनामा दिएका थिए । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम २०८१/०१/०२ गते आइतबार बेलुका ५:०० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न सुदूरपश्चिम प्रदेशसभा सदस्यलाई आह्वान गरेका हुन् ।
कमलबहादुर शाहले मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिएका थिए ।
नयाँ सरकारको लागि गठबन्धन दलहरु आन्तरिक छलफलमा जुटेका छन् । सुदूरपश्चिम प्रदेशको नेतृत्व कसले पाउने भन्नेबारे पनि दलहरुबीच कुनै सहमति भइसकेको छैन ।
गठबन्धनमा आए नागरिक उन्मुक्ति पार्टीलाई पनि दिन शिर्ष नेताहरु तयार भएका छन् । नेकपा एकीकृत समाजवादीले पनि दाबी गरेको छ ।