काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने सांसदलाई कारवाही गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष तथा संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन् ।
अध्यक्ष श्रेष्ठले पार्टीले ह्वपी जारी गरेको पत्र संसद सचिवालयलाई पठाइसकेकी छन् । उक्त पत्रमा भनिएको छ, ‘मिति २०८० फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णय बमोजिम अनिवार्य उपस्थित हुन र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू माथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्वीप जारी गरिएको व्यहोरा अनुरोध छ ।’
नयाँ समिकरण परिवर्तन भएसँगै नाउपाभित्र विवाद उत्कर्षमा पुगेको छ । संरक्षक समेत रहेका रेशम चौधरी नयाँ समिकरणको विपक्षमा छन् भने अध्यक्ष श्रेष्ठ पक्षमा ।
संघको विवाद सुदूरपश्चिम प्रदेशसम्म पुगेको छ । चौधरी नेपाली काँग्रेसकै नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहन्छन् भने अध्यक्ष श्रेष्ठले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएकी छन् ।
श्रेष्ठको निर्देशनपछि पनि नाउपाका एकजना मन्त्री थपिएका छन् । कुल ७ जना प्रदेश सभा सदस्यमध्ये ५ जना सरकारमा मन्त्री भइसकेका छन् ।
बाँकी दुई जनालाई पनि मन्त्रीको आश्वासन दिइएको छ । नाउपाका ७ सांसद र राप्रपा र स्वतन्त्र सांसदले समर्थन गरे काँग्रेस नेतृत्वको सरकार टिक्न सक्छ ।
नाउपाको विवाद सोमबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले नयाँ गठबन्धनमा नजाने, प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो ।
बैठकमा २१ मध्ये १६ जना संस्थापक केन्द्रीय सदस्यको सहभागिता रहेको चौधरी समूहले दाबी गरेको छ । यता संस्थापन पक्षले भने उक्त बैठकको कुनै आधिकारिक नभएको बताएको छ ।
निर्वाचन आयोगले नाउपाको महाधिशेन अवैध घोषणा गरेको थियो । त्योसँगै जबरजस्ती अध्यक्ष भएका रेशम चौधरी स्वतः बर्खास्त भएका थिए ।