
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने भएका छन् ।
शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रचण्डले ३० गते शपथ लिने लागेको जानकारी गराएका थिए । बैठकले पार्टीका सांसदहरुलाई विश्वासको मत र २९ गते हुन लागेको राष्ट्रियसभा अध्यक्षको लागि मतदानमा अनिवार्य उपस्थितको लागि ह्वपी समेत जारी गरेको छ ।
जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुने मन्त्रीलाई शपथ खुवाएर प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
जसपाले पार्टीबाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको छ । अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।
फागुन २१ गते नयाँ समिकरण बनेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्था अनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेछ ।