
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी विधान अधिवेशनमा आज ७ वटा समूहले सुझाव राख्ने भएका छन् । विधान मस्यौदामाथि छलफल गर्न बनेका २० वटा समूहमध्ये हिजो १३ वटा समूहले सुझावस प्रस्तुत गरिसकेका छन् ।
प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार सुझाव राखेर सकेपछि त्यसपछि विधान संशोधनका प्रस्तावहरू पारित गर्दै आजै अधिवेशन सम्पन्न गर्ने तयारी रहेको छ ।
मंगलबारदेखि सुरू भएको अधिवेशनमा अध्यक्ष प्रचण्डले विधानमा संशोधनसहितको प्रस्ताव पेश गरेका थिए ।
सो प्रस्तावमाथि सुझाव राख्ने क्रममा नेताहरूले पार्टीको विधानमा संशोधन गर्दा पार्टीको नाम र निर्वाचन चिन्ह नै फेर्नुपर्ने सम्मको सुझाव दिएका छन् ।
अधिवेशनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ ।
सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय संगठनका पदाधिकारीहरु सहभागी छन् ।