
विराटनगर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई कालोमोसो दलिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यकर्ताले मंगलबार कार्कीलाई कालोमोसो दलेका हुन् । उनिहरुले आफ्नै कार्यकक्षमा कालोमोसो दलेका थिए ।
प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको, नीतिगत भ्रष्टाचार हुने गरेको, सेवा प्रभावकारी नभएको भन्दै मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनले जनाएको छ ।
शिक्षक तथा कर्मचारीहरूले बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै आन्दोलित छन् । यसअघि पनि माग पूरा गराउन दबाब दिएको तर त्यसबेला समस्या समाधान गर्ने आश्वासन दिए पनि पूरा नगरेको भन्दै उनीहरु फेरि आन्दोलित बनेका हुन् ।
ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा सुरू भएको थियो ।
प्रहरीले कालोमोसो दलेको आरोपमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापालाई प्रहरीले पक्राउ गरेको छ ।