आज :

मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप- एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी

  • अनलाइन डबली

मुगु । हिमाली जिल्ला मुगुको सोरुगाँउपालिका–६ पुरुमुरु गाँउमा सिजनल भाइरल ज्वरोका कारण पछिल्लो एक सातामै ३ जनाको मृत्यु भएको छ ।

भाइरल ज्वरोका कारण एक सातामै ३ जनाको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताए । उनका अनुसार भाइरल ज्वरोका कारण ७२ वर्षीय हरिबहादुर शाही, ७५ वर्षीया कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको ज्यान गएको हो ।

‘सुरुमा रुघाखोकी लागेको थियो । नजिकै मेडिकलबाट औषधि ल्याएर खुवाउँदा पनि ज्वरो निको नभएपछि जिल्ला अस्पताल लैजाँदै थियौँ,’ कुसुमका ससुरा सलबहादुर ढोलीले भने, ‘अस्पताल पु¥याउनै पाएनौँ ।’ कुसुम उनकी माइली बुहारी हुन् ।

मृतक तीनै जनामा एकै किसिमको लक्षण देखिएको छ । ज्वरो आउने, रुघाखोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने जस्ता लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख धामीले बताए ।

उनका अनुसार गाउँपालिकाका ९ वटै वडामा उस्तै प्रकृतिका लक्षण देखिएका बिरामी बढ्न थालेका छन् । वडा नं. ६ र ७ मा प्राय सबै घरैपिच्छे भाइरल ज्वरोका बिरामी छन् ।

पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च लगायतका दर्जनबढी बस्तीमा भाइरल ज्वरो फैलिएको छ । बिरामीहरुमा ज्वरो आउने, रुघा खोकी, जिउ दुख्ने, खाना खान मन नलाग्ने, श्वास फेर्न गारो हुने, टाउको दुख्ने र नाक मुख सुख्खा हुनेलगायतका लक्षण देखिएको छ ।

‘सुरुमा हामीलाई पनि योबारे जानकारी आएन । सामान्य ज्वरो र रुघाखोकी त हो भनेर प्राय सबै घरमै बस्नुभएछ । हामीले ७ गतेमात्र पालिकामा विशेष गरी वडा नं. ६ र ७ मा धेरै जना एउटै प्रकृतिका लक्षण भएका बिरामी बढे भन्ने खबर पायौं,’ स्वास्थ्य शाखा प्रमुख धामीले भने, ‘अहिले गाउँभरि बिरामी परेका छन् । हामीले पनि उपचारलाई प्राथमिकतामा राखेर काम थालेका छौँ ।’

पालिकाले जिल्ला अस्पताल मुगुसँग सहकार्य गरेर डाक्टरसहितको टोलीलाई बोलाएर बिरामीको परीक्षण गराएको शाखा प्रमुख धामीले बताए ।

‘अहिले यही समस्या हो भनेर बोल्ने स्थिति छैन । परीक्षण भइरहेको छ । रिपोर्ट आउन बाँकी छ,’ टोलीमा संलग्न जिल्ला अस्पतालका डाक्टर कमल ढुंगानाले भने ।

उनले अघि थपे, ‘हामीले लक्षणको आधारमा कोभिड –१९, मलेरिया, औँलो, स्क्रब टाइफसलगायत समेत चेक गर्यो । बिरामीमा त्योमध्ये कुनै पनि भाइरस देखिएन । केही बिरामीको रगत र स्वाब परीक्षणको लागि पठाएका छौं, त्यसको रिपोर्र्ट आएपछि मात्र कुन भाईरस हो भन्न सकिन्छ । तर, बिरामीका लक्षण हेर्दा मौसमी भाइरस हुन सक्छ ।’

मंगलबार मात्रै पुरुमुरु र जिमा गाउँमा ११८ जना बिरामीको परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरु मध्येबाट नमुना जाँचका लागि खकार, स्वाव र रगत परीक्षणका लागि नेपालगञ्ज पठाइएको डाक्टर ढुंगानाले बताए ।

उनका अनुसार अब थप चार जना बिरामीको अवस्था गम्भीर छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal