काठमाडौं । प्रधानमन्त्री प्रचण्डले असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनलाई आज (शुक्रबार) सम्बोधन गर्दै भएका छन् ।आजदेखि सुरु हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिननै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगान्डाको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ ।
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सम्बोधन गरेसँगै युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले आज आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।
यस्तै, शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।
यसैबीच सम्मेलनमा भाग लिन बिहीबार साँझ युगाण्डाको कम्पाला पुगेका प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रहेका नेपालीहरूसँग अन्तरक्रिया गरेका छन् । सो क्रममा प्रधानमन्त्रीले अफ्रिकामा रहेका नेपालीहरूले उठाएको समस्या महत्पवूर्ण भएको उल्लेख गर्दै विदेशमा रहेका नेपालीहरूको समस्या सम्बोधन नगरी देशले गति लिन नलिने बताएका छन् ।
नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो । स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।


अनलाइन डबली





