काठमाडौँ । सत्ता गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन संयुक्तरुपमा अपील गरेको छ । आइतबार विहान प्रधाधनमन्त्री निवास बालुवाटारमा बसेको संयुक्त बैठकले माघ ११ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बिलियो बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि जारी अपीलमा भनिएको छ, “राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन् । राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन् । यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो ।”
गठबन्धनका उम्मेदवारलाई जिताउन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा नाउपा र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरुले अपीलमा हस्ताक्षर गरेका छन् । संयुक्त अपील गरेका गरी सात दलको साझा अपील छ ।
“नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौं । देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो । देशको उन्नतिका लागि राजनीतिक स्थीरता पूर्वशर्त हो । लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थीरता, दिगो शान्ति, शुसासन र समृद्धिका लागि प्रतिवद्ध छौ र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतीज्ञा गर्दछौं जारी अपिलमा भनिएको छ ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार चुनावी मैदानमा छन् ।