काठमाडौं। प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि मेलम्चीको पानी काठमाडौं आइपुगेको छ । प्रधानमन्त्रीले खानेपानी मन्त्रालयलाई चाँडो पानी ल्याउन निर्देशन दिएपछि पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने कार्ययोजना बनेको थियो ।
तर, २१ दिनमै बुधबार साँझबाट मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको थियो ।
खानेपानी मन्त्री महेन्द्र राया यादवले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गरेका छन् । निरीक्षणपछि मन्त्री यादवले माघ १ गते बिहान ९ बजेदेखि काठमाडौँमा वितरण सुरु गर्ने जानकारी दिए ।
लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको भन्दै अब बाह्रै महिना काठमाडौंमा मेलम्चीको पानी वितरण हुने दाबी गरे। काठमाडौँका विभिन्न ठाउँमा पानी विरतण हुने पाइप बिग्रिएकाले मर्मत गर्न र खानेपानी मिटर जडान गर्न निर्देशन दिए।
खानेपानी मन्त्रालयका अनुसार माघ १ गतेदेखि मेलम्चीको पानी अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा वितरण गरिनेछ ।
मेलम्ची खानेपानी विकास समितिका आयोजनाका अनुसार मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ ।
प्रधानमन्त्रीले एक बर्ष पुगेको अबसरमा समिक्षा गर्दै छिटै मेलम्चीको खानी काठमाडौँ ल्याउने बताएका थिए । त्यसलगत्तै प्रधानमन्त्रीले खानेपानी मन्त्रालयलाई निर्देशन दिएका थिए ।