काठमाडौँ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्ने तयारी भइरहेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा आफ्ना उम्मेदवारलाई मतदान गर्न संयुक्त वक्तव्य जारी गर्न लागेका हुन् ।
गठित राष्ट्रिय सभा निर्वाचन केन्द्रीय समन्वय समितिको बैठकले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको थियो ।
“मतदाताहरूसँग गठबन्धनका उम्मेदवारको पक्षमा मतदानका लागि गठबन्धन दलका शीर्ष नेताज्यूहरूलाई संयुक्त वक्तव्य जारी गर्न अनुरोध गर्ने, राष्ट्रिय सभा निर्वाचन प्रदेश समन्वय समिति र जिल्ला समन्वय समितिले गठबन्धन उम्मेदवारको पक्षमा मतदातासँग चुनाव प्रचारप्रसारदेखि मतगणनासम्म गर्नुपर्ने कार्यहरूको बारेमा आवश्यक निर्देशन दिने” समितिको निर्णयमा उल्लेख गरिएको छ ।
आफ्ना उम्मेदवारलाई जिताउन जिल्लाहरूमा पनि समिति गठन गर्नेबारे पनि जिल्ला तहमा छलफल भइरहेको संयोजक रमेश लेखकले जानकारी दिए ।
आगामी माघ ११ गते सातवटै प्रदेशमा १९ राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुँदैछ । निर्वाचनमा सत्तारूढ नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपासहितका सत्तारूढ दलले सहमतिमा उम्मेदवार उठाएका छन् ।


अनलाइन डबली





