
काठमाडौंं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यका दुईजना उम्मेदवारविरुद्ध दाबीविरोध तथा उजुरी परेको छ । निर्वाचन कार्यतालिका अनुसार सोमबार उम्मेदवारी दिएका उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी माग गरिएको थियो ।
आयोगका अनुसार मंगलबार दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) का दलित समूहका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको छ ।
भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा कर्णाली प्रदेशका माओवादी केन्द्रका उम्मेदवार विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।
राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।