काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न राजनीतिक दलका शिर्ष नेताहरु लर्को लगाएर द्वारिका होटल पुगे । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनका लागि बिहीबार नेपाल आएका जयशंकरलाई भेट्न नेताहरु होटलमै पुगेका हुन् ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (एस) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बत्तिसपुतलीस्थित द्वारिका होटल पुगेर छुट्टा छुट्टै भेटघाट गरेका थिए ।
एकले अर्काको अस्तित्व अस्वीकार गर्ने मदेश केन्द्रित दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत पनि मन्त्री जयशंकरलाई भेट्न द्वारिका होटल पुगेका थिए । उनीहरु एकसाथ जयशंकरलाई एकसाथ भेट्न होटल पुगेका थिए ।
मधेसी दलको यो दृश्यलाई राजनीतिक विश्लेषकहरुले देखावटी एकता भन्दै खिसिट्युरी गरेका छन् । भेट्न पुगेका नेताहरुलाई विदेशमन्त्री जयशंकरले राजनीतिसँगै देश विकासबारे प्रवचन सुनाएका थिए । अलग अलग नभेट्ने सन्देश पठाएपछि मेधसी दलहरु एकसाथ भेट्न गएको बताइएको छ ।
मधेस केन्द्रीत दलका नेताहरुले नेपालको संविधानको कार्यान्वयन नभएको भन्दै गुनासो गर्दा मन्त्री जयशंकरले उनीहरुलाई संगठत भएर लाग्न सुझाव दिएको स्रोतको दाबी छ ।
विदेशमन्त्री जयशंकर प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए भने देउवा, ओली र नेपालले होटलमै पुगेर छुटाछुटै भेट गरेका थिए । उनीहरुलाई पनि जयशंकरले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उदाहरण दिँदै देश निर्माणमा ध्यान सुझाव दिएका थिए ।
यसरी शिर्ष नेताहरु लाइन लागेर होटमै पुग्दा राष्ट्रियता कमजोर हुने राजनीतिक विश्लेषकहरुको मत रहेको छ ।


अनलाइन डबली





