काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्र राँके भूत मात्र रहेको भन्दै कोही डराउन नपर्ने बताएका छन् ।
सोमबार काठमाडौंमा कांग्रेसले आयोजना गरेको ४८ औं मेलमिलाप दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्दा भएका कमजोरीलाई सच्याउनतिर लाग्नुपर्ने बताए ।
‘अब यो संघीय लोकतान्त्रिक गणतन्त्र हामीले संविधानमा प्रष्ट व्याख्या गरेका छौं । त्यसैले हाम्रो राज्य के हो भन्ने परिभाषित गर्छ । यो संविधानप्रति नेताप्रति व्यवस्थाप्रति जुन आक्रोस बढिरहेको छ यसलाई हामीले गम्भीरतापूर्वक लिएर यस विषयमा सहमति गर्नै पर्छ । लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्ने कुरामा केही कमजोरी छन्, त्यसलाई हामीले सच्याउने र राष्ट्रिय सहमतिमा जानु पर्छ ।’
गणतान्त्रिक व्यवस्था कार्यान्वयनमा भएका कमजोरी नसच्याउँदा राजतन्त्र फर्किन्छ भन्ने आवाज उठ्ने गरेको संकेत गर्दै भट्टराईले भने,‘यसको मतलब पछाडि जानुपर्छ भन्ने होइन । राजतन्त्र भनेको त म पनि भन्छु राँके भूत हो, राँके भूतले फस्फोरस अलिकति बल्दा भूत भनेर मान्छे चिच्याउँछन् त्यस्तै भूत मात्र हो । त्यसबाट डराउनु पर्ने कुरा छैन ।’
सरकारको स्थिरताका लागि प्रमुख दलहरूको संयुक्त सरकार बनाउनका लागि अध्यक्ष भट्टराईले प्रस्ताव राखे । अहिले घोचपेचतिर भन्दा सामूहिक दायित्व लिएर निकास दिनेतिर जान सके बीपी कोइरालाजस्ता अग्रज नेताहरुप्रति सम्मान हुने धारणा उनले राखे ।
‘हामीले अहिले घोचपेचतिर भन्दा सामूहिक दायित्व लिएर निकास दिनेतिर गयौं भने स्वर्गीय बीपी कोइराला जस्ता महान अग्रज नेताहरुप्रति सम्मान हुन्छ’ भट्टराईले भने ।