धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले जारी अभियानले जनता र कार्यकर्तामा उत्साहसँगै आशा र भरोसा बढाएको निष्कर्ष निकालेको छ ।
जारी अभियानको आवधिक समिक्षासम्म पुग्दा कमिटीहरु सक्रिय हुँदै गएको, अन्य पार्टीमा गएकाहरु फर्किने क्रम जारी रहेको बताएको छ ।
पार्टीका स्थायी समिति सदस्य खगराज भट्ट र प्रदेश अध्यक्ष हरिराम चौधरीले जारी गरेको परिपत्रमा नेता कार्यकताको ठूलो हिस्सा प्रत्यक्ष फिल्डमा गएको र निस्क्रिय कार्यकर्ता पनि सक्रिय हुँदै गएको उल्लेख छ ।
अभियानको क्रममा सबै जिल्लामा शहिद परिवार, घाइते, पूर्वजनमुक्ति सेनाका योद्धाहरुसँगको भेटघाटले वातावरण पार्टी अनुकुल बन्दै गएको परिपत्रमा उल्लेख गरिएको छ ।
पार्टी सदस्यता नविकरण उत्साहजनकरुपमा अगाडि बढेको बताउँदै यसलाई जारी राख्न समेत परिपत्र जारी गरिएको छ ।
त्यसैगरी विभिन्न पार्टी परित्याग गरेर दुई सयभन्दा धेरै नेताहरु पार्टीमा प्रवेश गरेको पनि जानकारी गराइएको छ ।
अभियानको क्रममा संगठन परिचालन, संगठनात्मक अभियान संचालनमा आर्थिक समस्या देखा परेका, गाउँमा जनता र कार्यकर्ताको संरक्षण हुन नसक्दा स्थानीय पार्टी कमजोर भएकोलगायतका समस्यामा पनि उजागार भएको छ ।
त्यस्तै, जनवर्गीय तथा मोर्चाका केन्द्रीय, प्रदेश र जिल्लाका कार्यकर्ताका गवितिधि अपेक्षित रुपमा अगाडि बढ्न नसकेको पनि आवधिक समिक्षा गरिएको छ । कतिपय जिल्लामा गुटबन्दीको प्रभाव अभियानमा समेत देखा परेको छ ।
प्रदेशका ९ वटै जिल्लामा खटिएका ८० कमाण्डका टोली प्रमुखले राखेको रिपोर्टका आधारमा बैठकले यो निष्कर्ष निकालेको हो ।
बाँकी रहेका वडा कमिटीका बैठक सम्पन्न गर्ने, कमिटी विस्तारलाई वडा र टोलसम्म पुर्याउने निर्णय पनि गरेको परिपचत्रमा उल्लेख छ । त्यस्तै, समाजवादी मोर्चालाई जिल्लासम्म विस्तार गर्ने निर्णय समेत गरिएको छ ।