
काठमाडौँ । सरकारले आजदेखि ३० दिनसम्मलाई काठमाडौँले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्रका रुपमा घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत एक विज्ञप्ति जारी गरेर ३० दिनका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिएका छन् ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई र नेकपा एमालेले मंसिर ७ को माइतीघरमा एकै ठाउँमा कार्यक्रम राखेपछि स्थानीय प्रशासनले सो क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न नपाउने भएका छन् ।
एमाले र प्रसाईँले एकै ठाउँमा कार्यक्रम राखेपछि झडपको सम्भावना बढेपछि यो निर्णय लिनु परेको प्रशासनले जनाएको छ ।
प्रशासनले पद्यमोदयमोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतिर तथा बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वरचोकसम्मलाई निषेधित क्षेत्र तोकेको छ ।
प्रशासनको यो निर्णयसँगै एमाले र प्रसाईँको कार्यक्रम अनिश्चित जस्तै भएको छ । सरकारले तोकिएदिएको स्थानमा कार्यक्रम गर्ने कि निषेधित क्षेत्र तोडेरै कार्यक्रम गर्ने दुबै पक्षबाट कुनै प्रतिक्रिया आएको छैन ।