काठमाडौँ । गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने निर्णयविरुद्ध परेको रिटमाथिको सुनुवाइको आज फैसला आउने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको साे रिटमा बुधबार सुनुवाइ सकिएको थियो । रिगलको तर्फबाट वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, लव मैनाली तथा अधिवक्ताहरू सुलभ खरेल, शालिग्राम सापकोटा लगायतले बहस गरेका थिए ।
नियन्त्रणमा लिई व्यक्ति हत्या गरेको कसुरमा जन्मकैदको फैसला सुनाइएका रिगललाई राष्ट्रपतिबाट कैद छुट दिइएको भन्दै सर्वोच्च अदालतमा भारती शेर्पाले रिट दर्ता गरेकी थिइन् ।
२०७२ साल असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको थियो । सोही प्रकरणमा बाँके जिल्ला अदालतले रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ साल वैशाख ११ गते फैसला गर्दै रिगललाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका थिए । जिल्ला अदालतको फैसलामा उनी २०७२ भदौ ७ गते पक्राउ परेका कारण २०९२ साल भदौ ६ गतेसम्म जेलमा राख्नुपर्ने फैसला गरिएको थियो । तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए ।