
धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरश्चिम प्रदेशको तीन महिने अभियानको आबधिक समिक्षा कार्यक्रम आजबाट सुरु भएको छ । डडेल्धुरामा आइतबारबाट समिक्षा बैठक सुरु भएको हो ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठकको पहिलो दिन दार्चुला, कैलाली र डडेल्धुराले रिपोर्ट पेश गरेको छ । जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला संयोजक र अभियानमा खटिएका टोली नेताहरुले रिपोर्ट राखिरहेका छन् ।
दार्चुला इन्चार्ज नरेन्द्र कुँवर, कैलाली इन्चार्ज टेकेन्द्र भट्ट र डडेल्धुरा इन्चार्ज हरि ज्ञवालीलगायतका नेताहरुले रिपोर्ट राख्दै अभियानले जनता र नेता कार्यकर्तालाई पुनः जोड्न सफल भएको बताए ।
बैठकमा तीन जिल्लामा खटिएका २३ नेताले आफ्नो कार्यक्षेत्रको अवस्था, सम्भवना र चुनौतीसहितको रिपोर्ट प्रस्तुत गरेको केन्द्रीय सदस्य डम्बर रावलले जानकारी दिए ।
प्रदेश इन्चार्ज डिलाराम आचार्य बिरामी एक्कासी बिरामी भएपछि दुईपटकसम्म समिक्षा बैठक सरेको थियो ।
अहिले पार्टीका उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल बैठकमा प्रमुख अतिथिको रुपमा सहभागी भएका छन् ।
बैठकको अध्यक्षता पार्टीका स्थायी समिति सदस्य खगराज भट्ट र संचालन प्रदेश अध्यक्ष हरि चौधरीले गरेका छन् ।
भोलि विहानबाट बैठक पुनः सुरु हुनेछ ।
अभियानको क्रममा डोटी खटिएकै बेला बिरामी भएर उपचारको क्रममा निधन भएका पार्टीका प्रदेश उपाध्यक्ष कृष्णबहादुर बडुवालप्रति श्रद्धाञ्जली गर्दै बैठक सुरु भएको थियो ।