काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले, नेपाल विश्वको असल साथी भएको बताएका छन् ।
चार दिने नेपाल भ्रमण आएका गुटरेसले प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि संयुक्त रुपमा पत्रकारसँग साक्षात्कार गर्दै नेपाल विश्वको साथी भएको र विश्वले पनि राम्रो साथीको रुपमा नेपाललाई हेर्नु पर्ने बताए ।
‘‘नेपाल विश्वको साथी हो । त्यसैले विश्व नेपालको महत्वपूर्ण साथी हुन जरुरी छ । सहकार्य गरेरै हामीले त्यो यथार्थलाई प्रकट गर्न सक्छौँ” गुटरेसले भने ।
त्यस्तै उनले नेपालले विश्व शान्तिका लागि पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका छन् ।
नेपालले राष्ट्रसंघमार्फत शान्ति सैनिक पठाएर विश्वशान्तिका लागि खेलेको भूमिकाको उनले प्रशंसा गरेका हुन् ।
अर्को प्रसंगमा उनले नेपालले जलवायु परिवर्तनका कारण भोगेको समस्याबारे आफुले नजिकबाट जानकारी लिएको बताए । जलवायु परिर्वतनका कारण हिमालय क्षेत्रमा परेको असरबारे प्रत्यक्ष रुपमा अध्ययन गर्न आफु त्यसक्षेत्रमा जान लागेको उनले जानकारी दिए ।
“जलवायु परिर्वतनले समुदायमा परेको असर निक्कै नै दुखदायी छ । म त्यहाँका स्थानीय मानिसहरुलाई भेट्ने छु र उनीहरु कसरी प्रत्यक्ष प्रभावित भएका छन् भन्ने कुराबारे जानकारी लिनेछु । म पोखरा भ्रमणमा जानेछु र सिधैँ लुम्बिनितर्फ लाग्नेछु । त्यहाँबाट भगवान बुद्धले देखाएको शान्ति र अहिंसाको बाटो, गहिरोसंग समस्यामा परेको विश्वका लागि आज पनि उतिक्कै महत्वपूर्ण र सान्र्दभिक छ” महासचिव गुटरेसले भने ।


अनलाइन डबली


