
सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले हिम्मतका साथ अगाडि बढेर माओवादी केन्द्रलाई फेरि शक्तिशाली पार्टी बनाउने बताउनुभएको छ।
पार्टीको जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा पश्चिम रूकुमको बाफिकोट आइपुग्नुभएका प्रचण्डले बाफिकोट वडा नं.-६ र ७ को संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी शक्तिशाली बन्ने बताउनुभएको हो।
“अभियानको क्रममा पार्टीका नेताहरू गाउँगाउँ पुग्नुभएको छ। पार्टी नेतृत्वको सरकारले देश र जनताको पक्षमा प्रभावकारी काम गरिरहेको छ। यसरी हेर्दा माओवादी केन्द्र फेरि शक्तिशाली पार्टी बन्छ। यो पार्टी कमजोर भए गणतन्त्र नै उल्टिन्छ। यो हाम्रा लागि जीवन मरणको संघर्ष नै हो। यो देश हामीले मात्र बचाउन सक्छौं। हिजो विभाजित भएका साथीहरू पनि समाजवादी मोर्चामा आउनुभएको छ। पार्टी एकताका निम्ति पनि सकारात्मक पहल हुँदैछ। जस्तोसुकै परिस्थिति आए पनि हामीले हिम्मत हार्नु हुँदैन। पार्टी शक्तिशाली हुन्छ। शक्तिशाली बनाइन्छ” प्रचण्ढे भन्नुभयो ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड कर्णाली प्रदेशमा आफ्नो जिम्मामा परेको वडा नं. ६ र ७ का कार्यकर्ता तथा जनतासँग विहीबार साक्षात्कार समेत गरेका छन् । सो क्रममा प्रचण्डले भन्नुभयो, “सातवटै प्रदेशका १/१ वटा वडामा जाने योजनाअनुसार म यहाँ आएको छु। पार्टीलाई जनतासँग जोड्ने, पार्टी रूपान्तरण गर्ने र पार्टी जनतातिर फर्काउने हाम्रो लक्ष्य छ । यो अभियानले पार्टी बन्छ कि भन्ने जनतामा आशा र भरोसा बढ्न थालेको देखिन्छ। सबै रिपोर्ट हेर्दा अभियान प्रभावकारी नै देखिएको छ। जनयुद्धको जस्तो क्रान्तिकारी, जनतासँग घुलमिल हुने पार्टी बन्न सक्ला त ? यो हामी सबैका लागि महत्त्वपूर्ण प्रश्न हो। हिजो जनयुद्ध जनवादी क्रान्तिमा थियो, अहिले हामी समाजवादी क्रान्तिको तयारीमा छौं। सोहीअनुरूपको पार्टी बनाउँछौं।”
परिवर्तनका विरोधीहरुले टाउको उठाउन खोजेको र त्यसलाई चिर्न सरकार र पार्टी दुबै मोर्चाबाट काम गरिरहेको बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, “अहिले हामीकहाँ केही निरासाजस्तो, विरोधीहरू, प्रतिक्रियावादीहरू फेरि टाउको उठाउन खोज्नेजस्तो स्थिति छ। यसलाई चिर्न पार्टीभित्र र सरकारको मोर्चाबाट सँगसँगै काम गरिरहेका छौं। तसर्थ, परिवर्तनका मुद्दा र देश बचाउने जिम्मेवारी हाम्रो काँधमा छ।”
प्रधानमन्त्रीले मिटरब्याज पीडित किसानहरूको समस्या समाधानले मधेशमा माओवादीप्रति राम्रो आधार बनेको दाबी समेत गर्नुभयो । “सुशासनको क्षेत्रमा नयाँ पहल लिइएको छ। नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले राम्रो पहल लिएका छौं। भ्रष्टाचारविरूद्भ सरकारले गम्भीरतापूर्वक काम गरिरहेका छौं। राष्ट्रिय स्वाधीनताका क्षेत्रमा महत्त्वपूर्ण काम गरिएको छ। १० वर्षमा १० हजार मेघावाट विद्युत व्यापारको सम्झौता गरिएको छ। २५ वर्षदेखि अड्किएका परियोजनाहरू अगाडि बढेका छन्। चीनसँग महत्त्वपूर्ण सम्झौता भएका छन्” प्रचण्डले भन्नुभयो ।
कार्यक्रममा पार्टी उपमहासचिव जनार्दन शर्मा, मातृकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, पार्टी प्रदेश अध्यक्ष बिमला केसी लगायतका नेताहरू उपस्थित हुनुहुन्थ्यो।
पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियान दशैंमा पनि जारी रहेको छ । अभियानलाई स्थगित नगरी आफ्नो मौलिखतामा जारी राख्न केन्द्रबाट परिपत्र जारी गरिएको थियो । सोही अनुसार माओवादी नेताहरु दशैंमा पनि माैलिक कार्यक्रमसहित अभियानलाई जारी राखेका थिए ।