
काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्च २ र ३ मा हुने विश्व सम्मेलन तथा ११ औं महाधिवेशनमा सहभागी हुन आपील गरेको छ । बद्री समूहले आयोजना ११ औं महाधिवेशन तीन टुक्रामा विभाजित भएपछि शेष घले संरक्षक रहेको विनोद कुँवर नेतृत्वको एनआरएनएले सो अपील गरेको हो ।
संघकी महासचिव जानुका गुरुङले शनिबार एक विज्ञप्ति जारी गरेर ११ औं महाधिवेशनमा सहभागी हुन सबैलाई निमन्त्रण गरेकी छन् ।
१० औं महाधिवेशनपछि आधिकारिता विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेको र उच्च अदालत पाटनले १५ दिनको जवाफ मागेको अवस्थामा होटल सोल्टीमा गरेको हरकतले एनआरएनएको शिर झुकाएको शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विनोद कुँवरले नेतृत्व गरेको एनआरएनए नै आधिकारिकता रहेको विज्ञप्तिमाम दाबी गर्दै होटल सोल्टीमा देखाएका नांगो नाचप्रति संघले आपत्ति समेत प्रकट गरेको छ ।
महाधिवेशनमा सबै गैरआवसीय नेपालीलाई सहभागिताको लागि निमन्त्रण गर्दै महासचिव गुरुङले को सही को गलत भन्ने कुरा समयले देखाउँदै आएको बताएकी छन् ।
बद्री केसी समूहले होटल सोल्टीमा आयोजना गरेको ११ औं महाधिवेशन तीन टुक्रामा विभाजन भएको छ । केसीले आफ्नो लागनी रहेको भेरो अनलाइन भोटिङ सिस्टमलाई कब्जामा लिएर निर्वाचनको नतिजा आफ्नो पक्षमा लिएका छन् ।
उक्त मत परिणाम स्वीकार नगर्ने भन्दै अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठले शनिबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर केसीले लिएको शपथ अवैध भन्दै महाधिवेशन आफूले सम्पन्न गर्ने बताएका छन् । त्यस्तै, अध्यक्ष कुल आचार्य र रविनाले पनि केसीले कलिएका शपथ विधान विपरित भएको बताएका छन् ।
दुबै अध्यक्षले छानविनको रिपोर्ट नआउँदै सार्वजनिक गरिएको मत परिणाम र शपथ लिन अवैध भएको भन्दै महाधिवेशन जारी रहेको दाबी गरेका छन् ।
यही बेला पूर्वअध्यक्ष तथा संघका संरक्षक शेष घले काठमाडौँ आइपुगेका छन् । शुक्रबार होटल सोल्टीमा शेष–विनोद आउ, एनआरएनए बचाउँ भन्दै नारा लागेका थिए ।
अध्यक्ष बन्नको लागि केसीले अपनाएको हतकण्डाबाट आजित भएका गैरआवसीय नेपालीहरुले शेष घले संरक्षक तथा अभिभावक भन्दै सबैलाई एकजुटा बनाउन आग्रह पनि गरेका छन् ।
एनआरएनए आईसीसी बोर्ड सदस्य समेत रहेका दिपेश खत्रिका अनुसार घलेले सबैलाई एकजुट बनाउन पहल थालेको बताएका छन् ।
संघले पहिलो चरणमा महाधिवेशनमा सहभागिताको लागि निमन्त्रण दिएको छ । यो महाधिवेशनमा सहभागी भएकाहरुले पनि संघको सदस्यता लिन वा नविकरण गरी मार्चमा हुने महाधिवेशनमा सहभागी हुन सक्नेछन् ।
महासचिवले जारी गरेको विज्ञप्तिः
संघको ११ औं महाधिवेशनमा सबैलाई हार्दिक निमन्त्रणा
आदरणीय अग्रज, सल्लाहकार, परिषद पदाधिकारी, परिषद सदस्य तथा सम्पूर्ण गैरआवासीय नेपालीहरु;
सर्वप्रथम नेपाली समुदायको बिश्वब्यापी चाड बडा दशैंको उपलक्षमा सबैलाई हार्दिक शुभकामना !
यहाँहरुलाइ जानकारी नै छ गैरआवासीय नेपाली संघ (एनआरएनए) सँस्था २००३ मा स्थापना भएर नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा दर्ता भएर संचालन हुँदै आएको हो। सँस्था भित्रका कुराहरुलाई सँस्थागत रुपमा समयमा नै समाधान गरेर जान नसक्दा गत अक्टुवर २०२१ मा हुनुपर्ने संघको १० औं अन्तराष्ट्रिय महाधिवेशन ५ महिना पछाडि मार्च २०२२ मा सम्पन्न भयो ।
सो १० औं महाधिवेशन पनि नेपाल सरकारका परराष्ट्र मन्त्रालयको पत्र अनुसार तत्कालिन प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष डा. शेष घलेज्यूलाइ दिइएको जिम्मेवारी अनुसार सम्पन्न भएको हो । माहाधिवेशन पश्चात जानकरी र संसोधित विधानसहित नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा मार्च २०२२ मा नै दर्ता गाइएको छ ।
त्यसैबीच सो अधिवेशनबाट बाहिरिएर गएका केही एनआरएनहरुले अन्यत्र गएर महाधिवेशन गरेको भन्ने सुन्नमा आएको हो । त्यसैका कारण गैरआवासीय नेपाली संघ दुई भागमा रहेको छ । हामीले मन्त्रालयको निर्देशन र तत्कालिन बिधानअनुसार नै महाधिवेशन सम्पन्न गरेको जानकारी यहाँ सबैलाई छ । संघको १० औं महाधिवेशनबाट बिनोद कुँवरको अध्यक्षतामा निर्वाचित नेतृत्वले संस्थालाई विस्तार र नियमित गर्दै जाँदा नेपाल सरकारका तत्कालिन अर्थमन्त्री श्री जनार्दन शर्माज्यूलगायतका उच्च तहका राजनैतिक व्यक्तित्वहरुको समेतको सल्लाहमा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै कार्यकक्षमा दुवै पक्षबीच एकताको ११ औं महाधिवेशन गर्ने भनेर जुन १८, २०२३ आइबतरका दिन सहमतिमा हस्ताक्षर गरेका थियौं ।
सो सहमतिअनुसार दुई फरक गैरआवासीय नेपाली संघहरुलाइ एउटै बनाउन हामीले हरेक देशका राष्ट्रिय समन्वय परिषदहरुको महाधिवेशन रोकेर एकताको लागि पहल गर्यौं । हाम्रा नियमित गतिबिधि रोकेर एकताको लागि बुँदागत रुपमा योजनाबद्ध तरिकाले तयारी गर्दै सबै तह र आवश्यक पर्ने बिधि पूरा गर्यौं ।
तर, अर्को पक्षले कुनै पनि देशमा हामीलाई स्थान दिएन, संगै जान मानेन र जाने वातवरण पनि बनाएन । बिभिन्न बहाना गर्दै ढिलासुस्ती गर्ने काम मात्र गर्यो । एकताको लागि प्रधानमन्त्रीज्यूको उपस्थितिमा गरिएको सम्झौतालाई नै लत्याउँदै गएकाले हामीले अन्तिम बैठक डाकेर एकता गर्ने या नगर्ने भनेर सोध्यौं । तर, विभिन्न बहाना मात्र गर्नुभयो । त्यसैले हामीले आफ्नो रोकिएको काम नियमित गर्ने निर्णय गर्यौं ।
तथापी हामीले हामी नै आधिकारिक हौँ भनेर सम्मानित सर्वोच्च अदालतमा निवेदन पनि दिएका छौं । हामी आधिकारिक भएको प्रमाणसहितको रिट दर्ता सुनुवाई समेत भएको र मुद्धा विचाराधीन रहेको समेत जानकारी गराइन्छ । त्यसभन्दा पनि अर्को कुरा उहाँहरुले गर्न लागेको काठमाडौं भेलालाई अदालतको विचाराधीन मुद्दा हुँदाको बखत रोकी पाउन सम्मानित पाटन उच्च अदालतमा अर्को मुद्धा दर्ता गरिएको छ । सो मुद्दा दशैंपछि १५ दिनको म्यादसहित नेपाल सरकार र सबै पक्षलाइ अदालतले हाजिर हुन बोलाएको अवस्था छ ।
यस्तो कानुनी रुपका गर्न नहुने परिस्थितिमा अर्को पक्षले काठमाडौंको होटल सोल्टीमा गरेको भनेको भेलामा देखाइएको नाङ्गो रुपले त सम्पूर्ण गैरआवासीय नेलालीहरुको शीर निहुरिन बाध्य बनाएको छ । आम गैरआवासीय नेपालीकै यस्तो बेइजतपूर्ण अवस्था सृजना गरकोप्रति हाम्रो खेद प्रकट छ ।
संघभित्र गजडिएको बिकृति र संस्था कब्जा गरेर एकलौटी रुपमा लैजाने गलत प्रवृतिलाइ शुद्ध गरेर लैजाने अभियानमा हामी हिजो पनि सत्य र सहि पक्षमा थियौं, अहिले पनि छौं र भविष्यमा पनि सोही रुपमा स्थिर रहनेछौं । यसका लागि सम्पूर्ण एनआरएनहरुलाई हार्दिक आभारसहित यस अभियानमा सम्माहित हुनको लागि अनुरोध समेत गर्दछौं ।
हामीले संघको ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन मार्च २ र ३, २०२४ मा काठमाडौंमा सम्पूर्ण प्रतिनिधिहरु उपस्थिति भएर सम्पन्न गर्ने निर्णय गरेका छौं । सो महाधिवेशनमा सबैलाई हार्दिक निमन्त्रणा समेत गर्दछौं । साथै सम्पूर्ण एनआरएनहरुले आफ्नो देशको हाम्रो आधिकारिक राष्ट्रिय समन्वय परिषदमा सदस्यता नवीकरण वा नयाँ लिएर अध्यावधिक गर्नुहुन पनि अनुरोध गर्दछौं ।
हामी संख्यामा भन्दा पनि सहि एनआरएनहरुमा विश्वास गर्दछौं । ढिलो या चाँडो यहाँहरुले सहि को र गलत को भन्ने विश्लेषण गरेर आफ्नो सक्रिय सहभागिता गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ ।