धनगढी । नेकपा (माओवादी केन्द्र) को तीन महिने अभियान अछाम जिल्लाका दशवटै पालिकामा जारी रहेको छ । पश्चिम डोटीसँग जोडिएको चौपाटीदेखि पूर्व कालिकोट सीमा जोडिएको कालेकाडा, उत्तर बाजुरासँग जोडिएको ऋषिदहसम्म माओवादी नेताहरु पुगेका छन् ।
जनजनमा माओवादी, घरघरमा माओवादी नारासहित जिल्लामा सुरु भएको ‘जनतासँग विशेष रुपान्तरण अभियान’ को आवधिक समिक्षा सम्पन्न भएको छ । तीन चरणका कार्यक्रमसहित सुरु भएको अभियान आवधिक समिक्षापछि दोस्रो चरणमा प्रवेश गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ओमप्रकाश पुनले अभियानको क्रममा पार्टीका आन्तरिक कामसँगै जनसेवाका काम पनि सँगै जोडेर अभियान अगाडि बढेको बताउँछन् । सदरमुकाम मंगलसेनमा एकल महिलाको घर निर्माण गर्नेदेखि पर्यटकीय क्षेत्रको सरसफाई पनि गरिएको बताए ।
समस्या भएका जनता, पार्टी कार्यकर्ता तथा शुभचिन्तक दैनिक जीवनसँग जोडिएका श्रमलगायतका समस्यामा पनि अभियान जोडिएको बताए । “अभियानमा हामीले पार्टीका काम र जनसेवालाई सँगै जोडेर लिएका छौं । बास बस्न समेत समस्या भएको जानकारी आएपछि जिल्ला सदरमुकाममा एकल महिलाको घर निर्माणदेखि पर्यटकीय क्षेत्रको सरसफाई काम पनि गरेका छौं । तत्कालिन बिमकोट राजाको दरबार पनि सरसफाई गरेका छौं” इन्चार्ज पुनले भने ।
असोज २५ गते भएको आवधिक समिक्षामा दशवटै अभियान टोलीसम्मको अवस्थाबारे रिर्पोटिङ गरेको बताउँदै पुनले भने, “आवधिक समिक्षा साथीहरुले अछाममा माओवादी कमजोर हुनुको कारण, जनताका सुझाव, पुराना तथा सक्रिय नभएका नेता कार्यकर्तासँगै जनतासँग सुझावसहित रिपोर्ट प्रस्तुत गर्नुभयो ।” उनले पार्टी कमजोर हुनुको कारण जनता, कार्यकर्ता नभएर जिल्लाका शिर्ष नेताहरु भएको समिक्षामा प्रस्तुत रिपोर्टले देखाएको बताए ।
अभियानले कार्यकर्ता र जनतामा रक्तसंचार गरेको इन्चार्ज पुनको दाबी छ । उनले समग्र जिल्लाको रिपोर्ट जस्ताका त्यस्तै केन्द्रमा पुर्याउन जनता र कार्यकर्ताले माग गरेको पनि बताए ।
त्यसैगरी जिल्ला संयोजक रविन्द्र साउदले पहिलो चरणमा आन्तरिक बैठक, प्रशिक्षण तथा भेला सकेर टोलटोलमा पुगेर जन भेटघाट, सुझाव संकलन, छलफल र अन्तरक्रिया कार्यक्रम चलिरहेका छन् । पार्टी सदस्यता नविकरणलाई तिहारसम्म थप गरिएको बताए ।
“दशैं-तिहासम्म सक्ने गरी नविकरणको समय थप गरिएको छ । दशैंमा घर फर्किने भएकोले पनि सदस्यता नविकरणलाई जारी राखिएको हो” संयोजक साउदले अनलाइन डबलीसँग भने । उनले दशैं र तिहारमा केन्द्रीकरण हुनेभन्दा जनतासँगै जोडिने कार्यक्रमलाई जारी राख्ने बताए ।
संयोजक साउदले अभियानको क्रममा जनता र कार्यकर्तामा आशा जगाएको बताए । अछाममा माओवादी किन कमजोर भयो भन्नेबारे समग्र समिक्षा रिपोर्ट अन्तिम समिक्षासम्म तयार गर्ने बताउँदै अभियानमा नजोडिएका नेता कार्यकर्ताबारे निर्णय लिनेबारे पनि समिक्षामा छलफल भएको संयोजक साउदले बताए ।
इन्चार्ज पुनका अनुसार आवधिक समिक्षासम्म आइपुग्दा १३ वटा निष्कर्षः
१. पार्टी बीचमा हरायो ।
२. नेता-कार्यकर्ता जनतासँग जोडिएनन् ।
३. नेताहरुबीचको आन्तरिक अन्तरविरोध मुख्य बाधक भएको र यसको समाधान गर्नुपर्ने माग ।
४. नेताहरुले पालिकासम्मै गुटबन्दी खारेज गर्नुपर्ने माग ।
५. समग्र नेता बन्न नसकेको ।
६. नेताहरु आत्मकेन्द्रीत बनेको । अबसरको बिकेन्द्रीकरण गर्न तयार नहुनु ।
७. जनयुद्धमा योगदान गरेका पुराना तथा इमान्दार नेता कार्यकर्तालाई बाइपास गर्ने प्रवृति हाभी ।
८. सहिद परिवार र घाइते कार्यकर्ताको दुःखमा साथ नदिएको ।
९. माओवादीलाई अपराधिकरण गर्न गरिने प्रहार र भाष्याको प्रतिवाद गर्न नसकेको ।
१०. संघ, प्रदेश र स्थानीय जनप्रतिनिधिहरुले गरेका राम्रा कामहरु जनतासम्म पुर्याउन ध्यान नदिएको ।
११. अभियानमा नजोडिएका नेता कार्यकर्ताबारे आवश्यक निर्णय लिनुपर्ने ।
१२. परिवर्तनको बाहक माओवादी नै हो र समाजवादी आन्दोलनको नेतृत्व पनि यसले नै गर्छ भन्ने जनताको विश्वास तर माथिबाटै रुपान्तरण हुनुपर्ने माग ।
१३. जिल्लाका शिर्ष नेताहरु आत्मसमिक्षा गरेर रुपान्तरणसहित एकजुट भए २०८४ मा एकल चुनाव जित्न सक्ने । नभए प्रतिगामी शक्तिहरु हावी हुने खतरा ।


अनलाइन डबली












