काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आइतबार दिउँसो १ बजे हुने राखिएको छ । प्रदेश प्रमुख कार्यालयका अनुसार कार्कीले शपथसँगै सानो आकारको मन्त्रिमण्डल पनि गठन गर्ने तयारी गरेका छन् ।
सत्ता गठबन्धन तथा नेपाली काँग्रेसको निर्णयविरुद्ध गएर कार्की मुख्यमन्त्री बन्न सफल भएका छन् । तर, काँग्रेसको संस्थापन र इतर पक्ष कार्कीलाई मुख्यमन्त्री बनाउन सहमत भएका छन् ।
नेता शेखर कोइराला समूहका कार्कीले दाबी फिर्ता लिन दिएको निर्देशनलाई नमानेपनि अब मिलेर गठबन्धनमै रहेर अगाडि बढ्ने काँग्रेस शिर्ष नेताहरुबीच सहमति भएको छ ।
सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । तर कोइराला समूहले विद्रोह गरेपछि काँग्रेसमा सहमति अनुसार मुख्यमन्त्रीको अडानबाट पछि हट्न माओवादी तयार रहेको अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले शुक्रबार नै सन्देश पठाएका थिए ।
शुक्रबार सहमति नजुटेपनि शनिबार विहानसम्म कार्कीलाई मुख्यमन्त्री बनाएर अगाडि बढ्न काँग्रेसका दुबै पक्ष तयार भएपछि नयाँ सहमति भएको छ । प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच शनिबार विहान बालुवाटारमा भएको छलफलपछि कोशीको राजनीति फेरि लयमा फर्किएको हो ।
तीनै नेताहरु कोशीमा देखा परेको समस्याकै कारण गठबन्धनमा हुन सक्ने शंका मेटाउनकै लागि भएपनि लिखित सहमति गरेका छन् । सहमतिमा गठबन्धनलाई बलियो बनाउँदै अगाडि बढ्ने तयार रहेको उल्लेख छ ।
नेताहरुका अनुसार अब कार्कीलाई गठबन्धनकै मुख्यमन्त्री बनाउने र भोलि शपथसँगै केही मन्त्री नियुक्त गर्नेबारे बालुवाटार बैठकमा छलफल भएको थियो ।
कार्कीलाई मुख्यमन्त्री बनाउन मुख्य भूमिका खेलेको नेकपा एमालेलाई भने सरकारमा नल्याउने गठबन्धनमा छलफल भएको छ । यसअघि कार्की समूहसँग मुख्यमन्त्रीको शपथसँगै एमालेबाट एक जना मन्त्री नियुक्त गर्ने सहमति भएको थियो । तर बालुवाटार सहमति अब त्यो नहुने भएको छ ।
एमालेले राष्ट्रिय राजनीतिमा गठबन्धनसँग सहकार्य गर्न तयार भए कोशीमा सरकारमा सहभागी गराउन सकिने छ भने संघ र अन्य प्रदेश सरकारबारे एमालेको पोजिसन कायमै रहने अवस्थामा कोशीमा मात्रै सरकारमा लैजान नसकिने काँग्रेसका एक नेताले बताए ।
कोशीको अस्थिरतालाई उपयोग गर्दै त्यसलाई गठबन्धनभित्र समस्या पैदा गर्ने एमालेको योजना पनि सफल हुन नदिने बालुवाटार बैठकमा काँग्रेस सभापति देउवाले प्रतिवद्धता जाहेर गरेका थिए ।
कोशीको राजनीतिक घटनाले काँग्रेसमा संस्थापन र इतर पक्षबीच बलियो एकता भएको छ । जुन एमालेले जाहेभन्दा भिन्न हो । एमालेले कोइराला समूहलाई उचालेर गठबन्धन भत्काउने योजना बनाएको थियो ।
बालुवाटर बैठकमा भएको सहमति कोइराला समूहले कार्यान्वयन गर्यो भने कोशीमा एमालेको हात लागि शून्य नै हुने विश्लेषण सुरु भएको छ ।
मुख्यमन्त्री नियुक्त भएपछि संचारकर्मीसँगको संक्षिप्त प्रतिक्रियामा कार्कीले पनि एमालेलाई सरकारमा सहभागी गराउने विषय अहिले नभएर पछि हुने भनेर पन्छिएका थिए । उनले मध्यावधि रोक्न सफल भएको भन्दै गठबन्धन र पार्टीकै निर्णय मान्ने घुमाउरो भाषामा जवाफ दिएका थिए ।


अनलाइन डबली



