
काठमाडौँ । नेकपा एमालेको कोशीबाट गठबन्धन फुटाउने योजना असफल भएको छ । सत्तारुढ गठबन्धन र नेपाली काँग्रेसको निर्णयविरुद्ध काँग्रेस सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएपनि एमाले गठबन्धन फुटाउन भने असफल भएको हो ।
शनिबार विहान काठमाडौंमा प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भएको सहमतिले एमालेको योजनामा धक्का लागेको छ । तीनै नेताबीच लिखित सहमति नै सार्वजनिक भइसकेको छ ।
तीनै नेताबीच वर्तमान गठबन्धनलाई यथावत राख्ने र कमजोर नपार्ने सहमति गरेका छन् । ‘हामी वर्तमान सक्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौं र यो गठबन्धनलाई कुनैपनि हालतमा कमजोर हुन दिँदैनौ’ सहमतिमा उल्लेख छ ।
स्रोतका अनुसारनेता कार्कीलाई नै मुख्यमन्त्री बनाउने काँग्रेसमा सहमति जुटेको छ । त्यसलाई माओवादी केन्द्रसहित गठबन्धन दलहरुले पनि स्वीकार गरेका छन् ।
एमालेले समर्थन गरेपनि सरकार गठनमा भने कुनै भूमिका नदिने नेताहरुले बताएका छन् । राप्रपासहितको समहमति जुटाएर विश्वासको मत पुर्याउने र एमालेबाहेकको मन्त्रिमण्डल गठन गर्ने शिर्ष नेताहरुबीच सहमति भएको छ ।
एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि शनिबार विहान प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ ।