हुम्ला । नेकपा(माओवादी केन्द्र) हुम्लाले पार्टीको एक महिने अभियानको समिक्षा गर्दै जनतामा माओवादीप्रति सकारात्मक र उत्साहपूर्ण सन्देश गएको निष्कर्ष निकालेको छ । असोज ६ र ७ गते चंखेली गाउँपालिकाको मिमीमा बसेको बैठकले अभियानको सश्लेषण गर्दै पार्टी कार्यकर्ताहरुलाई थप सक्रिय हुन परिपत्र गरेको जिल्ला संयोजक डा.दीपेन्द्र रोकायाले बताएका छन् ।
समीक्षात्मक बैठक तथा प्रशिक्षण अभियानका जिल्ला इन्चार्ज झकबहादुर मल्लाको अध्यक्षतामा पार्टी उप–महासचिव तथा प्रदेश इञ्चार्ज मात्रिका प्रसाद यादवको प्रमुख आतिथ्य र प्रदेश अध्यक्ष विमला केसीको उपस्थितिमा बसेको बैठकले विभिन्न निर्णयहरुको जानकारी र कार्यान्वयनको लागि परिपत्र पठाएको पनि डा.रोकायाले बताए ।
अभियानलाई जिल्लाको सिंगो पार्टी पङ्तिले आत्मसाथ गरेको र जनतामा पार्टीप्रति उत्साह र सकारात्मक सन्देशको सञ्चार भएको र त्यसले पार्टीलाई गतिशीलताको उचाईमा पुर्याएको बैठकको ठम्याई थियो । सो क्रममा विभिन्न पार्टीहरु परित्याग गरी ७३ जना माओवादीमा समाहित भएको जनाउँदै, ताँजाकोटबाट ३३, सर्केगडबाट २९, अदानचुलीबाट ६, खार्पुनाथबाट ३,चंखेलीबाट १ र नाम्खाबाट १ जा गरी जम्मा ७३ जाना प्रवेश गरेका थिए । अभियानकै क्रममा विभिन्न ठाउँमा जनसेवाका कामहरु भएका, पार्टी सदस्यता नविकरण उल्लेख्य मात्रामा बढेको लगायतका संश्लेषणे गरिएको छ ।
२०७९को स्थानीय निर्वाचनको विवाद समाधान गर्न स्वयमा स्थानिय पार्टीलाई पहिलो जिम्मेवारी दिएको र त्यहाँ पनि हल नभए उपल्लो निकायले गर्ने पनि परिपत्रमा उल्लेख छ । जनयुद्धमा हुम्लाबाट सहिद भएका १ सय २७ जना तथा दुर्घटनामा परी असमायिक निधन भएका जिल्ला सल्लाहकार गजबहादुर रावत(दिलिप)को परिवारलाई उच्च सम्मान गर्ने र निराश नबन्न आग्रह गरेकोसमेत उल्लेख गरेको छ । प्रधानमन्त्री प्रचण्ड मित्र राष्ट्र चीनको भ्रमणका क्रममा हिल्सा–सिमकोट सडकको स्तरोन्नतिको लागि समजदारी गरेकोमा सरकारलाई विशेष धन्यबादसमेत दिएको उल्लेख छ ।