
सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशको अध्यक्ष पदका लागि दुई समूहका तीनजना नेताहरुसहित ४ जनाले आकांक्षा देखाएका छन् । एमालेको कर्णाली प्रदेशमा अध्यक्षका लागि स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरख बोगटी समूहका तीन नेताहरु र कर्णाली प्रदेशका पूर्वसभामुख राजबहादुर शाहीले आकांक्षा देखाएका हुन् ।
कँडेल समूहबाट राष्ट्रिय राजनीतिमा स्थापित नेता एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह र कर्णाली प्रदेश सभाका पूर्वसांसद गुलावजंग शाहले अध्यक्षको लागि आकांक्षा देखाएका छन् भने बोगटी समूहबाट कालिकोटका मिनबहादुर शाहीले आकांक्षा देखाएका छन् । त्यस्तै पूर्वसभामुख राजबहादुर शाही पनि अध्यक्षको आकांक्षी रहेका छन् ।
कँडेल समूहबाट अध्यक्षका आकांक्षी सिंह र शाहबीच सहमतिका लागि छलफल चलिरहेको छ । यसअघि कँडेल समूहबाट सुर्खेतका धुर्वकुमार शाही पनि अध्यक्षका आकांक्षी थिए तर शाही अध्यक्षबाट पछि हटेका छन् । सुर्खेतले सचिव पाउने सहमति भएको छ । अब सिंह र शाहमध्ये एकजना अध्यक्ष बन्ने निश्चित जस्तै छ ।
बोगटी समूहबाट मिनबहादुर शाही र लालबहादुर महताराको नाम चर्चामा भएपनि महताराले शाहीलाई समर्थन गरिसकेको नेताहरुले बताएका छन् । यसअघि बोगटी समूहबाट अध्यक्षका लागि विष्णु रिजाल, निरज आचार्य लगायतका नेताहरु पनि अध्यक्षका आकांक्षी थिए ।
सहमतिबाट नेतृत्व टुंग्याउने प्रयास
एमालेले सहमतिबाटै नेतृत्व टुंग्याउने प्रयास गरिरहेको पूर्वमन्त्री एवं एमाले नेता प्रेम बहादुर सिंहले जानकारी दिए । उनका अनुसार आफू पनि अध्यक्ष पदको आकांक्षी भएको बताउँदै सहमतिबाटै नेतृत्व टुंग्याउनु पर्नेमा जोड दिए । यद्यपि नेताहरुले आ–आफ्ना अडान नछाडेपछि चुनाव पनि हुनसक्ने सम्भावना उत्तिकै रहेको उहाँको भनाई छ ।
चुनावबाट नेतृत्व चयन भएमा कम्तिमा तीन जनाबीच प्रतिष्पर्धा हुने छ । चुनावमा कँडेल समूहबाट सिंह र शाहमध्ये एकजना, बोगटी समूहबाट मिनबहादुर शाही र कर्णाली प्रदेश सभाका पूर्व सभामुख राजबहादुर शाहीबीच प्रतिष्पर्धा हुने देखिएको छ ।
एमालेको कर्णाली प्रदेश अधिवेशन वीरेन्द्रनगरको सिटी हलमा भोली बिहान ११ बजेदेखि सुरु हुनेछ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।