काठमाडौँ । प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता गठबन्धनमा सहभागी भएको छ । राप्रपाले एक समिति सभापति पाएको छ ।
संसदको चौथो ठूलो दल रास्वपा भने एक्लिएको छ । उसले एक्लै उम्मेदवारी दिएको छ ।
सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा धेरै तीन जनाले उम्मेद्वारी दिएका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ । त्यो बाहेक माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जनमत र जसपाले एक एकवटा सभापतिमा उम्मेद्वारी दिएका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा मा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन्।
सार्वजनिक लेखा र महिला तथा सामाजिक समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल र किरणकुमार साहले उम्मेदवारी दिएका हुन् । पोखरेलको प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा साहको प्रस्तावकमा शान्ति विक र समर्थकमा आश्माकुमारी चौधरी छन् ।
कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा पूर्णबहादुर घर्ती, समर्थकमा महेश बर्तौला, रमेश लेखक र ध्रुवबहादुर प्रधान छन् ।
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले उम्मेद्वारी दिएका छन् ।
पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन्। उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन् ।
यसअघि माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपाले पाएको हो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति काठमाडौं–७ बाट निर्वाचित रास्वपा सांसद गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्रस्तावकमा पार्टी उपसभापति डिपी अर्याल र समर्थकमा असीम शाह रहेका छन् ।