काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरिएको जानकारी संसद सचिवामा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शर्मालाई आज पक्राउ गरेको थियो । प्रतिनिधिसभा सदस्य शर्मामाथि फर्जी कागजात बनाएको अभियोग लागेको छ।
प्रहरीका अनुसार शर्माले किर्ते शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर लेखाउँदै आएका थिए । नक्कली प्रमाणपत्र बनाएर डाक्टर बनेकामाथि प्रहरीले विगत एक वर्षदेखि अनुसन्धान गरिरहेको थियो ।
सीआईबीको टोलीले शर्मालाई पक्राउ गरेको जानकारी संसद सचिवालायलाई आजै गराएको छ ।
नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा फौजदारी कसुरमा कुनै सांसद पक्राउ परेमा पक्राउ पर्ने वित्तिकै त्यससम्बन्धी जानकारी सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त जानकारी दिनुपर्ने प्रावधान रहेको छ । उक्त जानकारी सभामुखले सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।
शर्मालाई लागेको आरोप पुष्टी भए ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने छ भने नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई पूर्पक्षको लागि थुनामा रहेमा निलम्बन गरिनेछ ।