काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । काठमाडौँको प्रज्ञा भवनमा पाँच दिनसम्म चलेको बैठकले तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ संचालन गर्नेलगायतका निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकमा नेताहरुले चार दिनसम्म राखेका धारणाको संक्षिप्त जवाफ दिँदै अध्यक्ष प्रचण्डले अभियान र नेताहरुको कार्यविभाजनको प्रस्ताव राखेका थिए । उक्त प्रस्ताव हलले एकमतले पारित गरेको थियो ।
अध्यक्ष प्रचण्डले पाँच दिनसम्म चलेको बैठक सोँचेको भन्दा सजीव र जीवन्त रुपले सम्पन्न भएकोमा आफूलाई खुसी लागेको बताए । “यो बैठकमा बहसहरु भए । बहस र छलफलबाट हामी नयाँ सम्भावना र निष्कर्षमा सफलताका साथ आइपुगेका छौँ । हाम्रो पार्टीको नेतृत्वमा सरकार छ । यो सरकारले सुशासन, सामाजिक न्याय र सम्मृद्धितर्फ लैजाने काम गरेर जनतामा नयाँ भावना जगाएको छ” अध्यक्ष प्रचण्डले भने ।
बैठकको समापन गर्दै अध्यक्ष प्रचण्डले बैठकले पार्टीभित्रका विभिन्न प्रश्न, अन्योल, आशंका र नेतृत्वबीचका अन्तरमा खुलेर छलफल गर्ने काम भएको भन्दै जनवादको उच्चतम थलोका रुपमा बैठक रुपान्तरण भएको पनि बताए ।
अभियानको क्रममा सबै वडासम्म पार्टी पुग्ने र सबै जनताको अवस्थाबारे अवस्थाको संकलन गर्ने बताइएको छ । अभियानको क्रममा अध्यक्ष प्रचण्डले सातवटा प्रदेशका सातवटा वडासम्म पुग्ने बताए ।
यस्तो छ नेताहरुको कार्यविभाजनाः
१) बर्षमान पुन बिशेष प्रदेश
२) चक्रपाणी खनाल, कोशी प्रदेश
३) लीलामणि पोख्रेल, मधेस प्रदेश
४) जनार्दन शर्मा, बागमती प्रदेश
५) देवेन्द्र पौडेल, गण्डकी प्रदेश
६) हितमान शाक्य, लुम्बिनी प्रदेश
७) मात्रिका यादव, कर्णाली प्रदेश
८) डिलाराम आचार्य, सुदूरपशिम प्रदेश
९) गिरिराजमणि पोख्रेल, उपत्यका सम्पर्क समन्वय प्रदेश
१०) राम कार्की, प्रवास प्रदेश
११) पम्फा भुसाल, जबस
१२) अग्नी सापकोटा, सूचना तथा संचार
१३) कृष्णबहादुर महरा, पार्टी एकता तथा ध्रुविकरण